१४ बैशाख २०८१, शुक्रबार

चिसोका कारण कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा २ जनाको मृत्यु


मृत्यु

जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी २ जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए ।

यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताए ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् ।

चिसोका कारण टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !