२० बैशाख २०८१, बिहिबार

वैदेशिक रोजगारले निम्त्याएको नकारात्मक असरबारे चिन्ता


वैदेशिक रोजगार

नवलपुर । वैदेशिक रोजगारका कारण समाजमा उत्पन्न हुने नकारात्मक असरबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा शुक्रबार भएको कार्यक्रममा वैदेशिक रोजगारले विप्रेषण (रेमिट्यान्स), सीप र अनुभव भित्र्याए पनि सामाजिक असर पारिरहेको उनीहरुले बताएका छन् ।

सुरक्षित आप्रवासन परियोजना जिल्ला संयोजक रितुराम सोतीले वैदेशिक रोजगारका कारण परिवार तथा बालबच्चाबाट टाढा हुने, बालबच्चा र वृद्धा सदस्यको हेरचाहमा कमी, पारिवारिक बेमेल, विखण्डन, छोडपत्र र सामाजिक लाञ्छना, मानसिक तनावजस्ता समस्या निम्तिएको बताए ।

वैदेशिक रोजगारीका कारण ऋण, ठगी, कारागार, शोषण, अलपत्र, अङ्गभङ्ग र मृत्युसम्मका घटना भएका प्रशस्त उदाहरण रहेको जनाउँदै सोतीले यसलाई न्यूनीकरण गर्नतर्फ लाग्नुपर्ने बताए । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) को आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक समस्याबारे कार्यपत्र प्रस्तुत गर्दै सोतीले वैदेशिक रोजगारीका कारण सामाजिक विकृति बढ्दै गएको बताए ।

त्यस्तै, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले वैदेशिक रोजगारीले आर्थिक अवस्था सबल बनाए पनि सामाजिक लागत एवं विकृति निम्त्याएको बताए । उनले त्यस्ता घटना कम गर्नतर्फ समाजमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

वैदेशिक रोजगारबाट पाएको सीप, अनुभव र रेमिट्यान्सको सही सदुपयोग गर्नुपर्ने भन्दै आलेले शिक्षा नै समुन्नत समाजका लागि मागदर्शन भएकाले सबैलाई वैदेशिक रोगजारीबारे सही जानकारी दिनुपर्ने बताए ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले अहिले चेतनास्तर वृद्धि हुँदै गएको बताउँदै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको सुधार गर्दै गइयो भने लैङ्गिक विभेद एवं लाञ्छना कम हुने बताए ।

हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेले समाज विस्तारै परिवर्तन हुँदै गइरहेको बताउँदै सबैको सहयोगले सभ्य र सुसज्जित समाजको निर्माणमा जुट्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण गर्दै हिकोडेफका परामर्शदाता रञ्जना लम्सालले वैदेशिक रोजगारबारे परामर्श एवं सूचनाका लागि सम्पर्क गर्न आग्रह गरे ।

डिसेम्बर १८ अर्थात् आज पुस ३ गते ‘सचेत, सीपमूलक र सुरक्षित रोजगार, मर्यादित श्रम रोजगारको आधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईदैछ ।

यसैबीच आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपुरले शैक्षिक सामग्री वितरण गरेको छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एवं सम्पर्कविहीन परिवारका बालबालिकाको अध्ययनमा सहयोगका लागि शैक्षिक सामग्री वितरण गरिएको मञ्चका जिल्ला अध्यक्ष युवलाल तिवारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको पूर्वसन्ध्यामा शुक्रबार कावासोतीमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा १० जनालाई पोसाक, झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो । आप्रवासी कामदार हकहित संरक्षण मञ्चले यसअघि रु एक अभियानअन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको मञ्चकी जिल्ला उपाध्यक्ष बालकुमारी जिसीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !