२४ बैशाख २०८१, सोमबार

बारको आन्दोलन बिथोल्न ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेको आरोप


चण्डेश्वर श्रेष्ठ

काठमाडौँ । नेपाल बार एशोसिएसनको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेको आरोप लागेको छ ।

न्यायालय शुद्धीकरणका लागि भन्दै आन्दोलनरत कानुन व्यवसायीहरूको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराले प्रतिकार समूह बनाएको आरोप बार पदाधिकारीले लगाएका हुन् ।

सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भ्रष्टाचार गरेको रकम समेत प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको आरोप लगाएका हुन् ।

त्यस्तै बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले पनि कानुन व्यवसायीहरुले गर्दै आएको विरोध प्रदर्शनको प्रतिकारका लागि ठुलो रकम खर्च भएको आरोप लगाएका छन् ।

उपाध्यक्ष भट्टराईले एक जनालाई दैनिक २ हजार रुपैयाँ दिएर बारको आन्दोलनलाई प्रतिकार गर्न ‘भाडाका टट्टु’ प्रयोग गरिएको बताए । उनले भ्रष्टाचारको रकम प्रयोग गरेर यसरी प्रतिकार समूह खडा गर्न खोजिएको आरोप समेत लगाएका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेको बेला जबराका समर्थकहरूले बाहिर सडकमा भेला भएर विरोध जनाएका थिए ।

नेपालको राष्ट्रिय झण्डा सहित मोटरसाइकलमा आएको समूहले ‘न्याय रोक्न पाइँदैन’ भन्दै नारा लगाएपछि सर्वोच्च परिसरभित्र रहेका कानुन व्यवसायीहरूले झन् चर्को आवाजमा प्रधान्यायाधीशको राजीनामा माग्दै नारा लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !