१५ बैशाख २०८१, शनिबार

बाढीपहिरो र डुबान (अपडेट) : देशभर ८८ जनाको मृत्यु, ३० बेपत्ता


पाँचथरको मिक्लाजुङमा पहिरो

काठमाडौँ । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो ।

विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ । यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुर लगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् ।

विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा ४ जना सहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । आजबाट भने मौसममा सुधार आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !