१५ बैशाख २०८१, शनिबार

धनकुटा पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या ७ जना पुग्यो


धनकुटा पहिरो फाइल फोटो

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका-१ को ६ नम्बर बुधबारेस्थित गढेरीमा पहिरोले घर पुर्दा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप १ जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ७ जना पुगेको हो ।

हेलिकप्टरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि हेलिप्याडतर्फ लैजाँदै गर्दा घाइते ११ वर्षीय सञ्जाल श्रेष्ठको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

मंगलबार राति करिब १२ बजे खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा उनीसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका ९ वर्षीय नाति विनोद, ५ वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा परी ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ, ५४ वर्षीया गणितकुमारी श्रेष्ठ, ३३ वर्षीय उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका थिए । घाइते ११ वर्षीय सञ्जालको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

बाँकी घाइते ५ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण भेडेटार–६ नं बुधबारे सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएकाले घाइतेलाई हेलिकप्टरमार्फत धरान लगिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !