११ जेष्ठ २०८१, शुक्रबार

वक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण


विद्यालय

पोखरा । नेपाल ओलम्पिक डेका अवसरमा आयोजित प्रदेशस्तरीय मावि वक्तृत्वकला प्रतियोगिताअन्तर्गत कास्कीका विजेतालाई पुरस्कार वितरण गरिएको छ । यही असार १० देखि १२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कास्कीका चार प्रतियोगी विजयी भएका थिए ।

प्रदेशका १० जिल्लाका १११ विद्यालयबाट सहभागी २२४ मध्ये कास्कीका चार जनाले चौथो, पाँचौँ, छैटौँ र नवौँ स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतियोगितामा रत्नज्योति माविकी अमृता अधिकारी चौथो, गण्डकी बोर्डिङकी आस्तिका अधिकारी पाँचौँ, एसओएस हर्मनकी समीक्षा अधिकारी छैटौँ र फिष्टेल एकेडेमीकी प्राप्ति लम्साल नवौँ स्थान प्राप्त गर्न सफल भएका थिए ।

विजेतालाई जिल्ला खेलकूद विकास समितिको आयोजनामा भएको पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले चौथोलाई रु पाँच हजार र अरुलाई क्रमशः रु दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

सो अवसरमा प्रदेश खेलकूद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले खेलकूदलाई जीवनशैली बनाउन सके मात्रै सोचेजस्तै गरी खेलकूद विकास अघि बढ्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रदेश खेलकूदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, प्रदेश खेलकूद परिषद्का सदस्य योगेन्द्र गुरुङ, योगेन्द्र शेरचन, विष्णुमाया गुरुङ, आकृति भण्डारी, शुभकन्या गुरुङ, प्रतियोगिताका संयोजक तथा क्षेत्रीय खेलकूदका निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकूदका उपाध्यक्ष महेन्द्र गुरुङलगायतले खेलकूदको महत्वका बारेमा विचार राख्दै विजेतालाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।

जिल्ला खेलकूदका अध्यक्ष तोरणबहादुर बानियाँले ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकूद’ विषयक वक्तृत्वकला प्रतियोगिता अन्य जिल्लाका विजेतालाई सम्बन्धित जिल्ला खेलकूद विकास समितिमार्फत प्रदान गरिने जानकारी दिनुभयो । गण्डकी प्रदेश युवा तथा खेलकूद मन्त्रालयको सहयोगमा प्रदेश खेलकूद परिषद् र जिल्ला खेलकूद विकास समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !