११ पुस २०८१, बिहीबार

रातारात चर्चामा आएकी रुपालाई झड्का : प्रधानले दिइन् आयोगमा उजुरी


सरस्वती प्रधान र रुपा सुनार

काठमाडौं । रातारात चर्चामा आएकी संचारकर्मी समेत रहेकी २४ वर्षीया रुपा सुनारलाई झड्का लागेको छ । रूपाले कोठा भाडामा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि पक्राउ परेर रिहा भई सकेकी ५८ वर्षीया सरस्वती प्रधानले रुपाविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।

प्रधानले आफूलाई षड्यन्त्रमुलक ढंगले फसाइएको भन्दै रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी हुन् । आज बुधबार आयोगमा निवेदन दिँदै उनले आफूले जातीय विभेद एवं छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपालाई हदै सम्मको कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

उनले रुपालाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन् । प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएको आरोप रुपालाई लगाएकी छन् ।

सञ्चारकर्मी रुपाले सरस्वती प्रधानले जातीय विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा उजुरी दिनुको साथै उनले आफूमाथि विभेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा पनि निवेदन दिएकी छन् ।

रुपाले आफूलाई दलित भएकै कारण घरमा कोठा नदिएको भन्दै उजुरी हालेपछि पक्राउ परेकी प्रधान तीन दिन हिरासतमा रहिन् । रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको एक टेलिभजन कार्यक्रममा बताएकी थिइन ।

छुवाछुत आरोपमा समातिएकी सरस्वती प्रधानलाई लिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ ९ असारमा झण्डावाला गाडी लिएर महानगरीय प्रहरी वृत सिंहदरबार पुगेका थिए । तर, प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छोड्न भनेपछि मन्त्री श्रेष्ठले सरस्वतीलाई सरकारी गाडीमा हालेर बबरमहलस्थित घरसम्म छाेडिदिएका थिए ।

छुवाछुत आरोपमा समातिएकी प्रधानलाई रिहा गर्न बहालवाला मन्त्री नै झण्डावाला गाडी लिएर महानगरीय प्रहरी वृत सिंहदरबार पुगेको भनेर मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएर पद खुस्किन लगेपछि उनी गुहार माग्दै राष्ट्रिय मानव अधिकार आयोग आज दिउसो पुगेर माफी समेत मागी सकेका छन् ।

रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन् । रुपा र सरस्वतीको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले पत्र समेत पठाइसकेको छ ।

रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री श्रेष्ठलाई जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएकोमा आइन्दा त्यस्तो गल्ती नगर्न समेत सचेत गराइसकेका छन् ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री श्रेष्ठबारे पूर्व खेलकुद मन्त्री समेत रहेका केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गर्दै जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

रुपा-सरस्वती काण्डको असर देशको राजनीतिदेखि संचार माध्यमसम्म परेको छ । शिक्षामन्त्रीको पद नै धरापमा परेको छ भने ६ वटा अनलाइन बन्द गर्न प्रेस काउन्सिलले नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्र समेत पठाइसकेको छ ।

यो पनि पढ्नुहोस्

बालुवाटार बैठकमा एमालेकै नेताले मागे शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा

छुवाछुत आरोपितलाई छुटाएका शिक्षामन्त्री आयोग पुगेर मागे माफी

अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइनलाई प्रेस काउन्सिलद्वारा कारबाही

थुनावाट घरबेटीलाई छुटाउने अधिकार कसले दियो ?

रुपा सुनारमाथि जाती भेदभाव गर्ने परेकी घरबेटी थुनामुक्त

दलित युवती रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रधान पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !