११ बैशाख २०८१, मंगलबार

छुवाछुत आरोपितलाई छुटाएका शिक्षामन्त्री आयोग पुगेर मागे माफी


कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेर माफी मागेका छन् । प्रहरी कार्यालय पुगेर छुवाछुत आरोपितलाई छुटाएका शिक्षामन्त्री श्रेष्ठले हिजो दिउँसो राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेर मन्त्री श्रेष्ठले भूल स्विकारेका हुन् ।

आयोगका सह–प्रवक्ता लोकनाथ बाँस्तोलाले मन्त्री श्रेष्ठ आफ्ना स्वकीय सचिवसहित दिउँसो २ बजे आयोगमा आएको पुष्टि गरे । मन्त्री श्रेष्ठले आफूबाट गल्ती भएको स्विकार्दै आइन्दा यस्तो भूल नगर्ने बाचा आयुक्तहरूसमक्ष गरेको आयाेगका एक सदस्यले जानकारी दिए ।

सहप्रवक्ता बाँस्तोलाले भने छलफलबारे जानकारीसहितको प्रेस विज्ञप्ति जारी गरिने बताए । छुवाछुत आरोपमा समातिएकी सरस्वती प्रधानलाई लिन शिक्षामन्त्री श्रेष्ठ ९ असारमा झण्डावाला गाडी लिएर महानगरीय प्रहरी वृत सिंहदरबार पुगेका थिए ।

सञ्चारकर्मी रुपा सुनारले आफूलाई दलित भएकै कारण घरमा कोठा नदिएको भन्दै उजुरी हालेपछि पक्राउ परेकी प्रधान तीन दिनदेखि हिरासतमा थिइन् । तर, प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छोड्न भनेपछि मन्त्री श्रेष्ठले सरस्वतीलाई सरकारी गाडीमा हालेर बबरमहलस्थित घरसम्म छाेडिदिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !