५ जेष्ठ २०८१, शनिबार

रोङ्सीमा जमेको ताल चिनियाँ पक्षले खुलायो, तामाकोशी तटीय क्षेत्रमा संकट टर्यो


तामाकोशी रोङसी खोला बाढी

दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको रोङसी खोलाको ताललाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाएर पानीको निकास गराउन चिनियाँ पक्ष सफल भएको छ । आइतबार बिहानैबाट चिनियाँ पक्षले तालबाट पानीको निकास दिने गरी काम थालेको थियो ।

शुक्रबार राति चीनको तीङग्री काउन्टी नजिकै पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको ३५ घण्टापछि पानीको निकास दिइएको हो । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तर्काउन थालिएको थियो ।

ताल बनेको रोङसी खोलाबाट चिनियाँ टोलीले सुरक्षित रूपमा पानीको निकास गराएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । पहिरोले थुनिएको तालमा एक लाख घनमिटरभन्दा बढी पानी जम्मा भएको उनले जानकारी दिएका छन् ।

सावधानी अपनाएर उक्त तालबाट पानीको निकास दिइएको चिनियाँ पक्षले बताएको उनले जानकारी दिए । तत्कालका लागि तामाकोसी तटीय क्षेत्रमा संकट टरेको घिमिरेले बताए । माथिल्लो भेगमा वर्षा जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भने उनले आग्रह गरेका छन् ।

रोङसीको निकासपछि तामाकोसी बहावमा केही उतारचढाव आएको छ । तामाकोसीको बहाव घटने र बढ्ने भइरहेको माथिल्लो तामाकोसी आयोजनाका इन्जिनियरले बताउदै तर आत्तिनुपर्ने अवस्था नरहेको प्रष्ट पारेका छन् ।

ताल फुटाउने कि न फुटाउने भन्नेमा चिनियाँ पक्ष अन्योलमा परेको थियो । सुरक्षित रुपमा थुनिएको खोलालाई निकास दिइएको चिनियाँ पक्षले जवाफ पठाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

जिल्ला प्रशाशन कार्यालय दोलखा प्रेस विज्ञप्ति

जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रिको रोङसिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो । दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वर्षायाममा निम्तन सक्ने सम्भावित खतराका बारेमा चीनको सम्बन्धित पक्षसँगको कुराकानीपछि उक्त सूचना जारी गरेको जनाएका थिए ।

रोङसिया सहर तथा सो क्षेत्रमा भारी वर्षा भइरहेको र पहिरो जाँदा तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको प्रशासनले विज्ञप्ति मार्फत जानकारी दिएको थियो । दोलखाको बिगु गाउँपालिका-१ लप्चीको सिमानामा पर्ने स्थानमा थुनिएको नदी कुनै पनि समय फुटेर बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन अनुरोध गरेको थियो ।

तामाकोशी नदी नेपाल–चीन सिमानाबाट उगम भएर बग्ने गर्दछ । बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार, सितली तथा रामेको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति गराउन सक्ने आंकलन गरिएको थियो ।

यही असार १ गते तामाकोशी नदीमा एक्कासी आएको बाढीका कारण माथिल्लो तामाकोशीको जलाशय काठको मुढा र लेदोले भरिएको थियो । सो मुढा र लेदोलाई पनि झिकिएको आयोजनाले जनाएको थियो । आयोजनाका बाढी आउने सूचनापछि माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको थियो भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गरिएको थियो ।

यो पनि पढ्नुहोस्

चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै

तामाकोशी नदी थुनिएको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !