२५ बैशाख २०८१, मंगलबार

बेलायतकी महारानी एलिजाबेथसँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट


एलिजाबेथ द्वितीय

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयले अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनसँग विन्डसर क्यासलमा प्रत्यक्ष भेटवार्ता गर्नु भएको छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री विश्वका सम्पन्न सात मुलुक (जी–७) को बैठकमा पर्यवेक्षकका रुपमा सहभागी हुन बेलायत आइपुग्नु भएको थियो ।

बेलायतको राजसंस्था अस्ट्रेलियाको पनि राजसंस्था रहेको छ । बेलायती कमनवेल्थ समूहका ५४ देशमध्ये अस्ट्रेलिया पनि एक हो ।

यो साता ९५ वर्षीया बेलायती महारानी निकै व्यस्त हुनु भएको थियो । उहाँ गत शुक्रबार बेलायतको दक्षिण पश्चिमस्थित कोर्नवालसम्म ट्रेनमा जानु भएको थियो । कोर्नवालमा सम्पन्न “सम्पन्न सात” (जी–७) का नेताहरुको शिखर बैठकमा सहभागी विश्वका नेताहरुका लागि आयोजित रात्रिभोजमा उहाँ सरिक हुनु भएको थियो ।

लगत्तै उहाँ शनिबार आफ्नो ९५औं जन्मोत्सवका अवसरमा विन्डसरमा आयोजित सैनिक परेडमा सहभागी हुनु भएको थियो । अर्को दिन उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँकी धर्मपत्नी जील बाइडेनलाई राजप्रासादमा स्वागत गर्नु भएको थियो ।

कोरोनाभाइरस महामारीका कारण गत वर्ष महारानी एलिजाबेथले अनलाइन र भर्चुअल माध्यमबाट मात्र अतिथिहरुसँग भेटवार्ता गर्नु भएको थियो । तर यसपटक खुला रुपमा उहाँले अतिथिहरुसँग भेटघाट गर्नु भयो ।

अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि लन्डनमा भेटवार्ता गर्नु भएको थियो । उहाँहरुबीच एकअर्का मुलुकका कैयौं वस्तु एवं सेवामा लाग्दै आएका करहरु हटाएर स्वतन्त्र व्यापार सम्झौता गर्ने बारेमा एउटा खाकामा सहमति भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !