२२ बैशाख २०८१, शनिबार

काठमाडौँ उपत्यकामा जेठ २० गतेपछि निषेधाज्ञा खुकुलो पार्दै लैजाने


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौँ । काठमाडौं उपत्यकामा लम्ब्याइएको निषेधाज्ञा जेठ २० गतेसम्म जारी रहेको छ । उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको जेठ ११ गते मंगलबार बसेको बैठकले जेठ २० गते मध्यरातसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

कोरोना भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि एक हप्ता थपेर निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेकाे थियो ।

एकसाताको परिस्थिति हेरेर थप निर्णय गरिने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् । कोरोना महामारीका कारण वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदै आएको छ ।

जेठ १४ गतेपछि थपिएको निषेधाज्ञापछि किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पनि खोल्न नपाइने भएको छ । तरकारी पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । थपिएको निषेधाज्ञा अवधिमा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइने भएको छ ।

यसरी काठमाडौँ उपत्यकामा लम्ब्याइएको निषेधाज्ञा जेठ २० गते सकिँदैछ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले संक्रमणको चेन ब्रेक रोक्न निषेधाज्ञा जारी गरेका छन् ।

जनजीवन कष्टकर बन्दै गएकाले २० गतेपछि निषेधाज्ञा खुकुलो पार्दै लैजाने तयारी भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर र सार्वजनिक निर्माण स्थलका क्षेत्रलाई खुकुलो बनाउँदै लगिने भएको छ ।

तर होटल, विद्यालय जस्ता बढी भिडभाड हुने ठाउँ तत्काल खुला नगरिने उनको भनाइ छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय सकिन दुईदिन मात्र बाँकी छ । संक्रमणको अवस्था अवस्था हेरेर थप निर्णय लिने पराजुलीले बताए । निषेधाज्ञाको विषयमा स्वास्थ्य मन्त्रालयसँग थप छलफल गरिने उनको भनाइ छ ।

२० गते पछि पनि जनस्वास्थ्यको मापदण्डमा पूर्ण रुपमा कडाइ गरेर निजी सवारीसाधनलाई सञ्चालनमा कडाइ गरिनुका साथै पास बिनाका कुनै पनि सवारीसाधन बाहिर निस्कन पाउने छैनन् । उनी संक्रमण फैलन नदिन नागरिक आफैँ सचेत हुनुपर्ने बताउँछन् । पछिल्लो समय थप गरिएको निषेधाज्ञाको केही हदसम्म पालना भएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !