गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण Nepalpatra गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण
१७ फाल्गुन २०७७, सोमबार

गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण


गोदावरी राष्ट्रिय वनस्पति उद्यान

ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई झण्डै रु एक करोड घाटा भएको छ ।

मुलुकमा कोभिड–१९ महामारी फैलिएर गतवर्ष चैत ८ गतेदेखि उद्यान बन्द भएसँगै उक्त मूल्य बराबरको रकम सङ्कलन गर्न नसकिएको हो । कोरोना महामारीले करिब नौ महिना उद्यान बन्द भएपछि गत आर्थिक वर्ष २०७५÷७६ को तुलनामा आव २०७६/७७ मा झण्डै रु एक करोड राजश्व सङ्कलनमा कमी आएको वरिष्ठ उद्यान अधिकृत दीपक लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना फैलिएपछि विगतको तुलनामा झण्डै दुई लाख आगन्तुक उद्यान अवलोकनमा आएनन् । गत महिना पुस १ गतेदेखि उद्यान खुला गरेसँगै १० हजार ६६७ आगन्तुकले उद्यान अवलोकन गर्नाका साथै यसबाट रु सात लाख राजश्व उठिसक्यो ।” हाल मुलुकमा कोभिड महामारी घट्दै गए पनि सातदोबाटो–गोदावरी सडक खण्डको अवस्था एकदमै नाजुक रहँदा सोचेजति मानिसले उद्यानमा प्रवेश नगरिसकेको वरिष्ठ उद्यान अधिकृत लामिछानेको भनाइ छ ।

“उद्यानमा झण्डै एक हजार १४ प्रजातीका वनस्पति छन् । यी बिरुवाको सिँचाइ, गोडमेल, मौसम अनुसारका बोटबिरुवा उत्पादन र उद्यान सौन्दर्य अभिवृद्धिका कार्य नियमित गरिरहेका छाँै” उहाँले भन्नुभयो, “उद्यानले अध्ययन तथा अनुसन्धानका लागि उत्पादन गरेका वनस्पति यदि कोही मानिसले खरिद गरी लान चाहेमा बिक्रीवितरण गर्ने गरेका छाँै । चालू आव शुरु भएदेखि पुससम्ममा हामीले झण्डै डेढ लाखको बोटबिरुवा बिक्री गरी उद्यानको केही राजश्व बढाउन सफल भयौँ । ”

फुल्चोकीमा मात्रै पाउने ६ प्रजातिका वनस्पति गोदावरीमा रहनाका साथै नेपालमा मात्रै पाउने तर विदेशी मुलुकमा नपाउने खरेटो, चैत्यफूल जस्ता परस्थानीय बिरुवालाईसमेत उद्यानभित्र संरक्षण गरी राखिएको उद्यान अधिकृत जीवन पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष मात्रै हामीले १४ प्रकारका बहुउपयोगी, दुर्लभ, लोपोन्मुख र औषधिजन्य बिरुवा सङ्कलन गरी उद्यानमा राख्यौँ भने गत वर्षदेखि जङ्गली बिरुवाको बीउलाई पनि भण्डारण गरिरहेका छाँै ।

कोरोना भाइरस सङ्क्रमणको महामारी आउनुअघि दैनिक छ देखि सात सयले उद्यान भ्रमण गर्दै आएकोमा हाल दुईदेखि तीन सयले मात्र अवलोकन तथा भ्रमण गरिरहेको उद्यान अधिकृत पाण्डेको भनाइ छ । “महामारी अघिका शनिबार, सार्वजनिक बिदा र महोत्सवका बेला दैनिक चारदेखि पाँच हजार आगन्तुकले उद्यान भ्रमण गर्थे” उहाँले भन्नुभयो, “यी दिनमा हाल एक हजारदेखि एक हजार ५०० मानिस पाउन पनि मुस्किल भइरहेको छ ।” उद्यानले दुई वटा विद्युतीय सवारी साधनमार्फत आगन्तुकलाई बगैँचा भ्रमण गराउने व्यवस्था समेत गरेको छ । एक छ र अर्काे आठ सिट रहेको सो साधन चढेर आगन्तुकले एक घण्टा मज्जाले उद्यानबारे जानकारी हासिल गर्न पाउँछन् ।

गत साउनदेखि तस्बिर खिच्न, सङ्गीत रेकर्ड र चलचित्र छायाङ्कन गर्नेलाई उद्यानभित्र प्रवेश गर्न दिइएको छ । विद्यालय समयमा पोशाक लगाएर बिना चिट्ठी उद्यान छिर्न खोज्नेलाई प्रवेश निषेध गरिने गरिएको उद्यानका लेखापाल पुरुषोत्तम वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उद्यान प्रवेशमा १० वर्ष उमेर मुनिका नेपाली बालबालिकालाई रु २० तथा २० वर्ष माथिकालाई रु ५०, दक्षिण एशियाली मुलुकका १० वर्ष मुनिका बालबालिकालाई रु १०० र माथिकालाई रु २००, अन्य मुलुकका विदेशी १० वर्ष मुनिका बालबालिकालाई रु २०० र माथिकालाई रु ५००, नेपाली विद्यार्थी पत्रसहित आउनेलाई रु २०, क्यामेरा रु ३०, भिडियो क्यामेरा रु २००, तस्बिर खिच्नेलाई रु दुई हजार, साङ्गीति भिडियोलाई रु पाँच हजार, नेपाली चलचित्र छायाङ्कन गर्नेलाई रु १० हजार र संयुक्त चलचित्र छायाङ्कन गर्नेलाई रु १५ हजार, दक्षिण एशियाली मुलुकका चलचित्र छायाङ्कन गर्नेलाई रु २५ हजार र अन्य विदेशी चलचित्र छायाङ्कन गर्नेलाई रु ३० हजार लिने गरेका छाँै ।”

यसैगरी उद्यानभित्र विद्युतीय सवारी प्रयोग गर्ने १० वर्ष मुनिका नेपाली बालबालिकालाई रु १०० र माथिकलाई रु २००, दक्षिण एशियाली मुलुकका १० वर्ष मुनिकालाई रु २०० र माथिकलाई रु ४००, अन्य देशका विदेशी १० वर्ष मुनिकालाई रु ५०० तथा माथिकालाई रु एक हजार र विद्यार्थी पत्रसहित आउनेलाई रु १०० लिने गरेको लेखापाल वाग्लेले जानकारी दिनुभयो ।

उद्यानभित्र २० साना–साना बाटिका छन् । ती बाटिकामा लिली, उन्यू, जापानीज शैलीको जडीबुटी र जैविक विविधता आदि नाम चलेका बोटबिरुवा छन् । सो वाटिकाभित्र वनस्पतिको संरक्षण, रेखदेख, अध्ययन, अनुसन्धान गर्न थुप्रै नेपालीका साथै विदेशी आउँछन् । जडीबुटी तथा वनस्पतिको संरक्षण र विविधताको हिसाबमा सो उद्यान मुलुककै सबैभन्दा ठूलो उद्यान भनि नाम चिनाउन सफल भइरहेको लामिछानेको भनाइ छ ।

गोदावरी नगरपालिकालाई अर्थतन्त्रमा बढवा गराउने एक प्रमुख माध्यम भनेकै अङ्गेजी शब्दमा उच्चारण गरिने ‘नेश्नल बोटानिकल अर्थात गोदावरी बोटानीकल गार्डेन’ हो । यो उद्यान बन्द भएयता सातदोबाटोदेखि गोदावरी सम्मकै होटल तथा लज, चिया पसल, फुलबिरुवाका नर्सरी सबै ओझेलमा परिरहेको स्थानीयवासी प्रकाश सिलवालको गुनासो छ । सो उद्यान अनुसन्धानकर्ताका लागि अनुसन्धान केन्द्र, विद्यार्थीका लागि शैक्षिक केन्द्र र सर्वसाधारणका लागि मनोरञ्जनस्थलको रुपमा परिचित हुन सफल भएको छ ।

उद्यानमा हिमाली, पहाडी र तराई क्षेत्रमा पाइने बोटविरुवा तथा वनस्पति छन् । कोभिड कहर अघि ३६५ दिनै उद्यान खुला हुने गथ्र्याे । सो उद्यान तत्कालीन राजा महेन्द्र बेलायत भ्रमणमा जाँदा त्यहाँ रहेको रोयल बोटानिकल गार्डेन इडेनवर्गको अवलोकन गरेका थिए । सोबाट प्रभावित भएका राजा महेन्द्रले नेपालमा पनि यस्तै उद्यान बनाउने बिचार गरी २०१९ साल कात्तिक १२ गते बेलायतबाट दुई प्राविधिक हटलक र टोनासलिङलाई झिकाएर गोदावरीमा उद्यान बनाउन लगाएको बताइएको छ । ८२ हेक्टर जमीनमा फैलिएको सो उद्यान एक हजार पाँच सयदेखि दुई हजार मिटरसम्म फैलिएको छ । विगतमा शाही वनस्पति उद्यानका नामले चिनिने सो बगैँचा २०६३ साल असार १९ गतेबाट राष्ट्रिय वनस्पति उद्यानका नाममा परिवर्तन हुन गयो ।

उद्यानले आगन्तुकलाई अध्ययन गर्न सजिलो होस भनी नेपालीका साथै अङ्ग्रजी भाषाद्वारा लेखिएको सूचना पाटी ठाउँठाउँमा राखिदिएको देखिन्छ । उद्यानभित्र पोलिथिन झोला तथा मध्यपान र धूमपान गरी अवलोकन गर्न निषेध गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !