२२ बैशाख २०८१, शनिबार

वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागी


भीषण आगलागी

५ पुस, पर्सा l वीरगञ्ज १८ भवानीपुरमा रहेको सुपर ग्यास उद्योगको प्लान्टमा बिहान ६ बजेदेखि ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ भीषण आगलागी भएको छ। घटनामा परी दुई जनाको मृत्यु भइसकेको छ। मृतक कामदार वा अग्नि नियन्त्रक भन्ने पुष्टि भएको छैन। घाइते कामदार अमिका पटेल र सुरक्षा गार्ड सन्दिप नेपालको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ।

विश्वकर्मा सिमेन्ट उद्योग नजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यासे बुलेट पनि जलेर नष्ट भएका छन्। ग्यास बुलेटबाट प्लान्टमा सार्ने क्रममा लिक भइ आगलागी भएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शान्तिकुमार कार्की बताए। आगलागी नियन्त्रणका लागि परिचालित दमकल पनि जलेको छ। परिचालित बरुणयन्त्र जलेपछि आगलागी नियन्त्रणको थप प्रयासहरु भैरहेको छ। ग्यास बुलेट पड्किएको आवाज परेसम्म सुनिएको छ। प्लान्ट जलेर निस्किएको धुँवाले अासपासको क्षेत्र समेत ढाकेको छ।

उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागी भएका कारण स्थानीय त्रसित बनेका छन्। स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका छन्। प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !