१९ बैशाख २०८१, बुधबार

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा


रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।

सोमबार नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै रहेको बताइन् । उनले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरू लक्षित रहेको बताइन् ।

मन्त्री शर्माले समग्र दूरसञ्चारको क्षेत्रमा देखिने वेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको दाबी गरिन् । उनले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि, एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरिसकेको बताइन् ।

यस वर्ष मात्रै सरकारले नयाँ प्रिmक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्नेगरी कार्यान्वयनमा ल्याएको जानकारी दिइन् । मन्त्री शर्माले अब जतिसक्दो छिटो अनलाइन प्रणालीमा जान जरुरी रहेको र त्यसका लागि डिजिटल पूर्वाधार अनिवार्य सर्त रहेको बताइन् ।

मन्त्री शर्माले भनिन्, “सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ । सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार हो भन्नेकुरा हामीलाई थाहा छ । सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरू लक्षित रहेको छ । समग्र दूरसञ्चारको क्षेत्रमा देखिने वेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको छ ।”

मन्त्री शर्माले कर्मचारीहरूको पेसागत, हक, हीतको रक्षा गर्ने दायित्व पहिलो दायित्व भएको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !