१८ बैशाख २०८१, मंगलबार

काठमाडौं महानगरभित्रका बिजुलीको पोलको तार आजदेखि हटाइदै


wire-kathmandu-taar- फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाइदै छ । काठमाडौँ महानगरभित्र रहेका बिजुलीका पोलहरुमा झुण्डिएका तारहरु आजदेखि हटाउन थालिने भएको हो ।

काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ गतेभित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो ।

आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ (आइस्पान) ले जानकारी दिएको छ । सहमति अनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइनेछ ।

महानगरको उक्त सूचनापछि इन्टरनेट सेवाप्रदायकले तार काटिए सेवा ‘ब्ल्याक आउट’ नै गर्न चेतावनी दिएका थिए । दूरसञ्चार प्राधिकरणले आइतबार मात्रै सूचना जारी गरेर इन्टरनेट अत्यावश्यक सेवा भएको यसको पूर्वाधारमा क्षति पुग्ने काम नगराउन अनुरोध गरेको थियो ।

महानगरले गत बैशाख ११ गते सडक किनारामा भएका बिजुलीका पोलहरुमा छाडीएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिन्ह राख्न सूचना जारी गरेपनि सम्बन्धित निकायले खासै चासो दिएको देखिदैन ।

गतबर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ । यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन महानगरले आग्रह गरेको धेरै भइसकेको छ ।

१५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेको थियो । तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भएको महानगरले उल्लेख गरेको छ ।

प्राधिकरणले माइतीघरदेखि विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, न्युरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्म रूट तय गरिएको छ । यस्तै माइतीघर, पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली, नारायणहिटी, कमलादी हुँदै रानीपोखरीसम्मको तार व्यवस्थापन गरिने भएको छ ।

डिल्लीबजार, अनामनगर हुँदै संघीय संसद् भवन वरपर, नक्साल, बालुवाटार हुँदै शीतल निवाससम्मको पनि तार व्यवस्थापन गरिने छ । माइतीघर, त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर, अमृत साइन्स क्याम्पस, रानीबारी हुँदै सामाखुसीसम्म अर्को रुट तय गरिएको छ।

सोह्रखुट्टे, ढल्को, ताहाचल हुँदै स्वयम्भू, सिनामंगल, पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला, बौद्धनाथ, कालीमाटी, कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थापन गरिने दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

पछिल्लो समय महानगर शहरलाई सुन्दर र व्यवस्थित बनाउन तथा नागरिकको जनधनको सुरक्षाका लागि क्रियाशील हुँदै आएको छ । तारको कारण काठमाडौं शहर भौतिकरुपमा अव्यवस्थित देखिएको छ भने आगलागीको जोखिम पनि बढाएका छन् ।

टेलिफोन तथा इन्टरनेटलगायतका तारहरू सडक छेउको पोलहरूमा गुजुल्टो परेको, चुँडिएको अवस्थामा रहेको र त्यसले सहरी सौन्दर्यता बिगारेको तथा दुर्घटनाको जोखिम बढाएकाले प्राधिकरणले व्यवस्थापन गर्न लागेको हो ।

यस्तो छ नेपाल दूरसञ्चार प्राधिकरणले निकालेको सूचना

नेपाल दूरसञ्चार प्राधिकरणले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !