२१ बैशाख २०८१, शुक्रबार

पुरानो सेवा प्रदायक कम्पनीका कर्मचारीले धर्ना दिएकोमा टेलिकमको आपत्ति


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले पुरानो सेवा प्रदायक कम्पनीका कर्मचारीहरुले केन्द्रीय कार्यालयको प्रांगण बाहिर धर्ना गरेकोमा आपत्ति प्रकट गरेको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै टेलिकम केन्द्रीय कार्यालयको प्रांगण बाहिर हाल केही व्यक्तिहरुले धर्ना दिइरहेको र आम सर्वसाधारण तथा आम सञ्चार माध्यममा समेत यस बारेमा केही भ्रम पर्न गएको भन्दै स्पष्ट पारेका छन् ।

नेपाल टेलिकमले सेवा विस्तार, मर्मत सम्भार लगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम-कानुन बमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको उनले बताएका छन् ।

तर सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था रहेको उनले स्पष्ट पारेका छन् ।

केही दिन पहिले सम्पन्न व्यवस्था अनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखेर धर्ना दिनु बाञ्चनिय नहुने पनि विज्ञप्तिमा प्रष्ट पार्दै हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !