२३ बैशाख २०८१, आइतबार

सेनाको साइबर स्पेसमा आक्रमण गर्ने २१ वर्षीय युवक पक्राउ


सिस्टम ह्याक

काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन् । साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाको साइबर स्पेसमा आक्रमण गर्ने युवक पक्राउ गरिएको जानकारी दिएका हुन् ।

उनले सेनाबाट प्राप्त सूचनाका आधारमा अनुसन्धान गर्दा साइबर आक्रमणमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका-१० का सागर ढकाललाई नियन्त्रणमा लिइएको हो । उनलाई सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा पक्राउ गरिएको हो ।

उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

ब्युरोको अनुसन्धानका क्रममा उनी पोखरामा रहेको थाहा पाएपछि ब्यूरोको टोलीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

नेपाली सेनाबाट केही अघि साइबर स्पेशमा पहुँच पुर्याइ साइबर हमला भएको देखिन आएकाले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ब्यूरोमा पत्राचार भएको थियो । सोही पत्राचारका आधारमा साइबर हमलाको प्राविधिक विशलेषण, ह्युमन इन्टेलिजेन्स तथा अनुसन्धानका आधारमा उक्त ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

यस्तो छ साइबर ब्युरोले निकालेको प्रेस विज्ञप्ति

साइबर ब्युरोले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !