२१ बैशाख २०८१, शुक्रबार

सम्पादक समाजले पत्रकारद्वय बानियाँ र नेपाललाई पुरस्कृत गर्ने


राजेन्द्र बानियाँ

काठमाडौँ । सम्पादक समाज नेपालले पत्रकार राजेन्द्र बानियाँ र विष्णुप्रसाद नेपाललाई पुरस्कृत गर्ने भएको छ । समाजका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार यस वर्ष हिमालय टेलिभिजनका समाचार प्रमुख बानियाँलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

सो पुरस्कारको राशि रु २५ हजार रहेको छ । यसैगरी बैठकले गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु १५ हजार एक रहेको छ ।

सम्पादक समाज नेपालले पत्रकारिताका क्षेत्रमा लामो समय योगदान पुर्याउने पत्रकारलाई सम्मान गर्दै आएको छ । यस वर्ष सम्पादक समाज सम्मान वरिष्ठ पत्रकार मल्ल के सुन्दर, पुरुषोत्तम दाहाल र कृष्णा ताम्राकारलाई प्रदान गर्ने निर्णय गरेको समाजका महासचिव श्याम डोटेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष वियोगीको निधनपश्चात २०६२ सालमा स्थापना भएका यी पुरस्कार र सम्मान हरेक वर्ष गोविन्द वियोगी स्मृति दिवसका अवसर पारेर माघको पहिलो हप्ता प्रदान गरिँदै आएकामा कोभिड–१९ का कारण गत वर्ष पुरस्कार र सम्मान कार्यक्रम स्थगन गरिएको थियो ।

यस वर्ष पनि पुसदेखि नै नेपालमा कोभिड–१९ को तेस्रो लहर प्रारम्भ भएकाले निर्धारित समयलाई परिवर्तन गर्दै कोभिड–१९ को सङ्क्रमण घटेपछि र जिल्ला प्रशासन कार्यालयले भीडभाड नियन्त्रणका लागि जारी गरेको आदेश फिर्ता भएपछि सम्मान कार्यक्रम आयोजना गरिने सम्पादक समाजले निर्णय गरेको छ ।

समाजको बैठकले यस वर्षको कार्यक्रम शिवपुरी–७ सूर्यचौरमा निर्माण भइरहेको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको सभाकक्षमा आयोजना गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !