१९ बैशाख २०८१, बुधबार

धादिङमा बिजुली सर्ट हुँदा गाउँ नै जल्यो, करेन्ट लागेर २ को मृत्यु, ७ घाइते


आगलागी

९ वैशाख, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-३ मल्दुङमा बिजुली सर्ट हुँदा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सोमबार राति धादिङको थाक्रे गाउँपालिका-३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लागेको थियो ।

ट्रान्समिटर पड्किई हाई भोल्टेज विद्युत प्रशारण हुन जाँदा घरमा विद्युतीय सामग्री चलाउने क्रममा थाक्रे गाउँपालिका-३ विचारी टोलका २३ वर्षका सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षका सानोमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले घटनाबारे जानकारी आएको बताउँदै प्रहरी र प्राविधिकहरुलाई त्यहाँ पठाउने तयारी गरिरहेको बताएका छन् । सो गाउँ पृथ्वी राजमार्गबाट ७ किलोमिटर माथि पर्छ ।

अहिले पानी परिरहेको र बाटो चिप्लो भएका कारण प्रहरीको गाडी घटनास्थलसम्म पुग्न नसक्ने भन्दै उनले प्रहरी र प्राविधिकलाई हिँडेरै पठाउन लागेको जानकारी दिए ।

मृतकको पोस्टमार्टम र घाइतेको उपचारमा अहिले गाउँपालिका अध्यक्ष रामकुमार आचार्य सहितको टोली खटिएको छ । मृतकको शव अहिले खानीखोला प्रहरी कार्यालयमा ल्याइएको छ । घाइतेहरुलाई भने अस्पताल पठाइ सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !