२३ बैशाख २०८१, आइतबार

रहेनन् प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठ


महेश्वरलाल श्रेष्ठ

चितवन । मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको ८४ वर्षका उमेरमा निधन भएको छ । नेपाली काङ्ग्रेस चितवनका सल्लाहाकार समेत रहेका उनको आज काठमाडौं स्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वि. सं. १९९४ पुस २९ गते सुब्बा मित्रलाल श्रेष्ठ र चुँदरीदेवीका साहिँला पुत्रका रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मिएका उनले पाल्पाको पब्लिक पदम हाइस्कुलमा अध्ययन गरेका थिए । वि.सं २०१२ मा चितवन आउनु भएका उहाँले पार्टीद्वारा सञ्चालित २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

विसं २०१५ सालबाट चितवनमा स्थायी बसोबास गरेका उनी सोही वर्ष भएको आम निर्वाचनमा ५६ नम्बर निर्वाचन क्षेत्रत्रमा काङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले वि. सं २०१७ को राजनीतिक परिवर्तनसंगै तनहुँको बन्दिपुर सशस्त्र आन्दोलन, २०१८ सालमा भरतपुर कव्जा गर्ने शसस्त्र क्रान्ति र माडी, ठोरी क्षेत्रमा समेत शसस्त्र बिद्रोहमा नेतृत्व प्रदान गर्नु भएको काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सेनानी श्रेष्ठ वि.सं. २०१८ सालपश्चात् आठ वर्ष निर्वासन, पटक-पटक राजवन्दीका रुपमा जेल जीवन, २१ पटक हिरासतमा पर्नुका साथै २०४६ सालको जनआन्दोलनमा तत्कालीन सरकारले राज्य द्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउमा समेत परेका थिए । प्रजातान्त्रिक आन्दोलनका अथक सङ्घर्षशील योद्धा महेश्वरलाल अविवाहित थिए ।

सल्लाहकार श्रेष्ठको निधनले काङ्ग्रेसले असल एवम् निष्ठावान नेता गुमाएको जिल्ला सभापति जीतनारायणद्वारा आज यहाँ जारी शोक विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा स्वर्गीय महेश्वरलालको सम्मानमा पार्टी कार्यालय कमलनगरमा पाँच दिन पार्टीको झण्डा आधा झुकाइने र कार्यालयमा १३ औं दिनसम्म शोक पुस्तिका राखिने उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !