१४ बैशाख २०८१, शुक्रबार

पूर्वसभामुख महराकी श्रीमतीको कोरोना संक्रमणवाट मृत्यु


सीता महरा

काठमाडौं, कार्तिक १९ । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ः२५ बजे सिता महराको निधन भएको अस्पतालले पुष्टि गरेको छ । उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि ग्रसित थिइन् ।

दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

सीता महरा वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी हुन् । उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।

महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दु:ख दिइएको पारिवारिक स्रोत बताउँछ । २०५४ साउन २९ गते राति रोल्पा मेवाङस्थित घरमै गिरफ्तार गर्न खोज्दा उनले सुरक्षाकर्मीको घेरा तोडेको दिनदेखि नै उनको परिवार नै पूर्णकालीन कार्यकर्ताका रूपमा तत्कालीन माओवादीमा लागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !