२० बैशाख २०८१, बिहिबार

धनुषामा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु


मृत्यु

जनकपुरधाम, साउन २७ । धनुषा जिल्लाको जनकपुरधाममा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना कोभिड-१९ विशेष अस्पतालको आइसोलेसनमा करिब १८ दिनदेखि उपचाररत १ जना पुरुषको मृत्यु भएको हो ।

उनको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड-१९ अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले बताए । डा. सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए ।

मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका-८ का ६० वर्षीय पुरुष बद्री मण्डल रहेका छन् । उनी गत साउन ८ गतेदेखि आइसोलेसन कक्षमा भर्ना भएका थिए । कोरोना संक्रमितलाई लामो समयदेखि अत्यधिक ज्वारो आइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

संक्रमितको मृत्युपछि शव व्यवस्थापनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । संक्रमितको ट्राभल हिस्ट्री अनुसार सबै सम्पर्कमा आएकाहरुको पहिचान भइसकेको र सम्पर्कमा आइसकेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, “मृतक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।”

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए । मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३ जना पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आघिकारिक पुष्टि बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !