३ जेष्ठ २०८१, बिहिबार

नेपालमा एकैदिन कोरोना संक्रमणवाट ६ जनाको मृत्यु


मृत्यु

काठमाडौँ, साउन २१ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आज एकैदिन ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्सा र मोरङमा २/२ जना र सप्तरी र काठमाडौंमा १/१ गरेर बुधबार ६ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनाको आधिकारिक पुष्टि गरेपनि अरु ४ जनाको भने औपचारिक पुष्टि गर्न बाँकी भएपनि सम्बन्धित अस्पतालले भने कोरोनाकै कारण थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

पर्सा जिल्लामा २ जनाको मृत्यु

पर्सा जिल्लामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पर्सा जिल्लामा कोरोना संक्रमणवाट थप १ जना युवतीको मृत्यु भएको छ । गत सोमबार मृत्यु भएकी ती युवतीमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा हिजो मंगलबार राति कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । पर्साको पोखरिया नगरपालिका-८ जगतपुरकी स्थायी बासिन्दा भएपनि पोखरिया-९ स्थित मामा घरमा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेपछि उपचारको लागि अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

साथै पर्सा जिल्लामा कोरोना संक्रमणवाट अर्का १ जना पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-५ का ४६ वर्षीय पुरुषको आज बुधबार बिहान मृत्यु भएको छ । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको हो । साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

मोरङमा २ जना पुरुषको मृत्यु

मोरङमा आज बुधबार मृत्यु भएका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा विराटनगर-९ का ४५ वर्षीय पुरुषको कोशी अस्पतालको आइसोलेसन उपचाररत विराटनगर पुरुषको मृत्यु भएको २ घण्टापछि रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ । विराटनगरका पुरुष मंगलबार राति अस्पताल भर्ना भएका थिए भने उनको बुधबार दिउँसो १ बजे मृत्यु भएको थियो । कलेजोको गम्भीर समस्या भएका उनी मंगलबार राति उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

साथै रंगेली नगरपालिका-८ दर्बेसाका ४५ वर्षकै अर्का पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा बुधबार दिउँसो रिपोर्ट आउँदा दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुषको भने अस्पताल ल्याउने क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ जना महिलाको मृत्यु

काठमाडौंमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही-६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार ती महिला प्रहरी अस्पतालमा साउन १६ गते भर्ना भएकी हुन्। मनमोहन अस्पतालमा उपचार गराइरहेकी ती महिलामा कोरोनाको लक्षण देखिएपछि प्रहरी अस्पताल रिफर गरिएको थियो । उनमा साउन १९ गते कोरोना पुष्टि भएको थियो । निमोनियाको उपचार गराइरहेकी महिलामा स्क्रब टाइफस समेत देखिएको थियो ।

सप्तरीमा १ जना पुरुषको मृत्यु

सप्तरी जिल्लाको रुपनी गाउँपालिका-५ गढियामा आज बुधबार होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी डेढ महिनाअघि मलेसियाबाट घर फर्किएका थिए । कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उनको शवको अन्तिम संस्कार गर्न रोक लगाएर बुधबार स्वाब संकलन गरेको थियो । राजविराजस्थित गजेन्द्र नारयणसिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती व्यक्तिमा कोभिड-१९ पुष्टि भएको अस्पतताल स्रोतले बताएको छ ।

होम क्वारेन्टाइनमा बसेपनि ४५ वर्षीय ती व्यक्तिले पीसीआर परीक्षण गराएका थिएनन् । केही दिनदेखि ज्वरो देखिएका उनलाई मंगलबार अझ च्यापेको र दम बढेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर अस्पताल परिसरमा पुग्नेबित्तिकै उनको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्

सप्तरीमा कोरोना संक्रमणवाट थप १ जना पुरुषको मृत्यु

काठमाडौंमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु

मोरङमा कोरोना संक्रमणका कारण थप २ जना पुरुषको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !