, मोरङमा कोरोना संक्रमणका कारण थप २ जना पुरुषको मृत्यु

मोरङमा कोरोना संक्रमणका कारण थप २ जना पुरुषको मृत्यु

विराटनगर, २१ साउन । मोरङमा आज बुधबार मृत्यु भएका २ जना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा विराटनगर-९ का ४५ वर्षीय पुरुष र रंगेली नगरपालिका-८ दर्बेसाका ४५ वर्षकै अर्का पुरुष रहेका छन् ।

कोशी अस्पतालको आइसोलेसन उपचाररत विराटनगर पुरुषको मृत्यु भएको २ घण्टापछि रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ । साथै अर्का पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा बुधबार दिउँसो रिपोर्ट आउँदा दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगरका पुरुष मंगलबार राति अस्पताल भर्ना भएका थिए भने उनको बुधबार दिउँसो १ बजे मृत्यु भएको थियो । कलेजोको गम्भीर समस्या भएका उनी मंगलबार राति उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

साथै रंगेलीका पुरुषको भने अस्पताल ल्याउने क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।