८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो


मृत्यु

काठमाडौं, साउन २१ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पर्सा जिल्लामा कोरोना भाइरस संक्रमणवाट थप १ जना युवतीको मृत्यु भएको छ । गत सोमबार मृत्यु भएकी ती युवतीमा कोरोना पुष्टि भएको थियो । मंगलबार राति उनको रिपोर्ट पोजिटिभ आएको हो । पर्साको पोखरिया नगरपालिका-८ जगतपुरकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । तर उनी पोखरिया-९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । उनलाई पखाला लागेपछि उपचारको लागि अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

साथै पर्सा जिल्लामा कोरोना संक्रमणवाट अर्का १ जना पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-५ का ४६ वर्षीय पुरुषको आज बुधबार बिहान मृत्यु भएको छ । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको हो । साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !