२३ बैशाख २०८१, आइतबार

ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


मृत्यु-निधन

ललितपुर, साउन १६ । ललितपुर जिल्लाको पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । उक्त अस्पतालको आइसियूमा उपचाररत उनको आज शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलका बासिन्दा हुन् । स्रोतका अनुसार वीरगन्जबाट काठमाडौं उपत्यका आएसँगै रुघाखाेकी लगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् ।

आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नु परेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

उनमा निमोनियाको समस्या रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अहिले मृतक उनको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने जनाएको छ । मृतक महिलामा उच्च रक्तचापको समस्या रहेकाे थियो ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

यो पनि पढ्नुहोस्

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !