२५ बैशाख २०८१, मंगलबार

विषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे


bakhra

२७ पुस, गलेश्वर । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ बाख्रा मरेका छन् ।

चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा भेटिएका थिए । व्यावसायिक बाख्रापालन गरिरहेका स्थानीय कृषक शाहीका अनुसार चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिनेजस्ता लक्षण देखिएको थियो । गोठभित्र धमाधम बाख्रा मर्न थालेपछि कृषक शाहीले भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीलाई जानकारी गराउनुभएको थियो । केन्द्रका प्रमुख चिकित्सक जीवन आचार्यको नेतृत्वमा गएको टोलीले विषालु घाँस खाएर बाख्रा मरेका जनाएको छ । बाख्रा मरेपछि करीब रु तीन लाखको क्षति भएको कृषक शाहीले बताउनुभयो ।

केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले दिएको जानकारीअनुसार चरन क्षेत्रमा पाइने विशाक्त घाँसकै कारण बाख्रा मरेका हुन् । “अज्ञात रोग वा महामारी होइन्, चरन क्षेत्रमा भेटिने विषालु घाँसको पहिचान नहुँदा बाख्रा मरे”, रेग्मीले भन्नुभयो ।

रेग्मीका अनुसार मरेका सबै बाख्रामा एकै किसिमको समस्या देखिएको छ । १२ बाख्रा मरेका र पाँचको उपचार भइरहेको रेग्मीले बताउनुभयो ।

ऐतिहासिक पोखरी मर्मत

साविकको धौलागिरि अञ्चलको सबैभन्दा पुरानो मानव निर्मित ‘बूढो पोखरी’लाई मर्मत–सम्भार गरेर स्थानीयवासीले चिटिक्क बनाएका छन् । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित यो पोखरी राजा गीर्वाणयुद्धको इतिहाससँग जोडिएको छ । राजा गीर्वाणयुद्धका नीर सुब्बा (अहिलेको स्वकीय सचिव) रहेका रत्नेचौरका वसन्त बोगटीले विसं १८६६ मा राजाको इच्छा अनुसार सो पोखरीको निर्माण गरेका स्व वसन्त बोगटीका सातौँ पुस्ताका सन्तती चिरञ्जीवी बोगटीले जानकारी दिनुभयो ।

बोगटीले दिएको जानकारीअनुसार त्यतिबेला रत्नेचौरमा पानीको हाहाकार थियो । गाउँमा कतै पनि पानीका स्रोत नभएपछि ढोडेनीबाट पानी बोकेर खाने, सरसफाइ गर्ने र पशु चौपायालाई खुवाउने गर्नुपर्दा स्थानीयवासी आजित भएका थिए । स्व बोगटीले यो कुरा राजा गीर्वाणयुद्धलाई सुनाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर बनाई पानी सङ्कलन गरेर स्थानीयवासीले पानीको समस्याबाट मुक्ति पाएका थिए ।

करीब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा बगैँचा विस्तार गर्न सात रोपनी जग्गा रहेको छ । पोखरीबाट करीब २२ मिटरमाथि ढोरेनीखोलाबाट ल्याइएको पानी पोखरीमा हालेर अहिले पोखरीलाई नयाँ स्वरुपमा मर्मत सम्भार गरिएको छ । पोखरीको पानी स्थानीयवासीले प्रयोग गर्ने गरेका छन् ।

गत आर्थिक वर्ष पोखरी संरक्षणका लागि बेनी नगरपालिकाबाट रु ५० हजार र साविकको जिल्ला भू–संरक्षण कार्यालयबाट रु ५० हजार सहयोग भएको थियो । त्यसैगरी स्थानीयले करीब रु ६० हजारको जनश्रमदान गरी पोखरी मर्मत सम्भार गरेपछि अहिले बूढो पोखरी चिटिक्क परेको र पोखरी हेर्नका लागि टाढाटाढाबाट समेत मानिस आउने गरेका बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !