बलेवा, २२ जेठ । कोभिड—१९ उपचारका लागि धौलागिरि अस्पतालमा बनाइएको १२ श्ययाको आइसोलेशन कक्षमा बिरामी राख्ने ठाउँको अभाव भएपछि अस्पतालबाहिर उपचारको तयारी शुरू गरिएको छ ।
बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै धौलागिरि अस्पताल बाहिर उपचारको तयारी शुरू गरिएको हो । अस्पतालमा सबै बिरामीको उपचार गर्न नसकिने भएकाले अस्पताल बाहिर वैकल्पिक व्यवस्था गर्न लागिएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।
जिल्लाको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकामा आज देखिएका १० जना कोभिड–१९ का बिरामीको उपचारका लागि सदरमुकाम बाहिरका विकल्पको खोजी थालिएको बताइएको छ । कोभिड—१९ का बिरामीहरुलाई कहाँ राखेर कसरी उपचार गर्ने भन्ने विषयमा जिल्ला कमाण्ड पोष्टको बैठक आजै बस्दै छ । “नेपाल सरकारले पनि नयाँ कार्यविधि बनाएको छ सोहीअनुसार गर्नुपर्ला कि”, कमाण्ड पोष्टका संयोजक गौलोचन सैँजूले भन्नुभयो, “अस्पताल ल्याउन सम्भव छैन्, आइसोलेशन कक्षमा ठाउँ छैन् ।” सङ्क्रमित देखिएकै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा आइसोलेशन बनाउने वा पायक पर्ने मुख्य स्वास्थ्य संस्थामा पु¥याउने भन्ने विषयमा कमाण्ड पोष्टले छलफल गर्दैछ ।
गण्डकी प्रदेशमा आज एकै दिन देखिएका १६ नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै बागलुङका छन् । यहाँका तीन स्थानीय तहका क्वारेन्टिनमा रहेका १० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङको निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा बसेका २२ र २९ का दुईजना पुरुष र ३३ वर्षीय एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै, बडीगाड गाउँपालिका ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा बसेका १६, २०, २१ र २५ वर्ष उमेर समूहका चारजना पुरुष र बागलुङकै गल्कोट नगरपालिका क्वारेन्टिनमा बसेका २०, २२ र २३ का तीनजना पुरुष गरी जम्मा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला कमाण्ड पोष्टका अनुसार उनीहरु सबैको घर नजिकैको स्वास्थ्य संस्था वा क्वारेन्टिनलाई आइसोलेशन बनाएर उपचार शुरु हुनेछ ।
पूर्वतयारी नरहेका कारण उनीहरुलाई उपचारस्थलमा पु¥याउन भने समय लाग्ने भएको छ । सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा रहेका १२ श्ययाको आइसोलेशनमध्ये सात जनाको यसअघि नै उपचार भइरहेको छ । पाँच श्ययामात्रै बाँकी छन् । बागलुङमा पछिल्लो समय थपिएकासँगै सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ भने दुईजना निको भएर घर फर्किएका छन् ।
चारगुणाले बढे क्वारेन्टिन, खर्च धान्न गाह्रो
लकडाउनको दुई महिना वितिसक्दा बागलुङमा क्वारेन्टिनको क्षमता बढाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढेपछि बागलुङका सबै पालिकाले व्यवस्थित क्वारेन्टिन बनाएका हुन् ।
शुरुवातमा देखिएका दुईजना सङ्क्रमित निको भएर घर फर्केपछि दुई महिनासम्म जिल्लामा अन्य सङ्क्रमित भेटिएका थिएनन् । सङ्क्रमणको त्राससमेत घटेपछि भएका क्वारेन्टिन पनि खाली थिए । चैत र वैशाखमा जिल्लाभर ४०० क्वारेन्टिन रहेकामा जेठको दोस्रोे सातासम्म एक हजार ३५० को सङ्ख्या पुगेको हो ।
दुई महिनासम्म एकजना पनि राख्नु नपरेपछि क्वारेन्टिन बेकामे भएको टिप्पणीसमेत भएको थियो । तर भारतबाट धमाधम मानिस आउन थालेपछि जोखिम पनि अत्यधिक बढेकाले सबै पालिकामा व्यवस्थित क्वारेन्टिन बनाउन भनिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । उहाँका अनुसार पछिल्लोपटक जिल्लाभित्र एक हजार ३४१ जना मानिस क्वारेन्टिनमा बसिसकेका छन् । अझै केही थप हुन सक्ने भएकाले एक हजार ५०० को हाराहारीमा क्वारेन्टिन बनेको उहाँले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकाले भने लकडाउनको शुरुवातमै रामरेखा आधारभूत विद्यालय र रमेटारस्थित धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा क्वारेन्टिन बनाएको थियो । नगरपालिकाले नियमित २०० जनासम्म राख्न सक्ने क्षमता पहिलेदेखि नै बनाएको हो । त्यसबाहेक ग्रामीण क्षेत्रमा पनि आवश्यकतानुसार बढाउने गरी आन्तरिक तयारी गरिरहेको नगरप्रमुख जनकराज पौडेलले बताउनुयभो ।
लकडाउनको दुई महिनासम्म एकजना पनि नराखेका क्वारेन्टिन पछिल्लो दुई सातामा खचाखच भरिएका हुन् । ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका तथा बडिगाड गाउँपालिकाका क्वारेन्टिन भारतबाट मानिस धमाधम भित्रिन थालेपछि मात्रै सञ्चालनमा आएका हुन् । अहिलेसम्मको तथ्याङ्कअनुसार बडिगाड गाउँपालिकामा ३३० जना र निसीखोला गाउँपालिकामा २९१ जना क्वारेन्टिनमा छन् । गत साता तमानखोलाका चारजना र बडिगाडका दुईजना युवामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । त्यसपछि ती पालिकाले झनै बढी संवेदनशील भएर विदेशबाट आउने सबैको परीक्षण रिपोर्ट नआउन्जेल क्वारेन्टिनमै राख्ने योजना बनाएका हुन् । ढोरपाटन नगरपालिकामा मात्रै २५० भन्दा बढी क्वारेन्टिनमा रहेको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो ।
स्वास्थ्य कार्यालयले मन्त्रालयको निर्देशिका र निर्देशनअनुसारका क्वारेन्टिन बनाउनसमेत आग्रह गरेको छ । तराईका अधिकांश जिल्लामा क्वारेन्टिनबाटै कोरोना भाइरस सङ्क्रमण बढेको टिप्पणी बढेपछि सरसफाइ, खानपनलगायतको व्यवस्थापनमा कार्यविधिसमेत बनाएर सबैलाई पठाइएको गुरौले जानकारी दिनुभयो । तोकिएको मापदण्डमा खाने बस्ने व्यवस्था गर्ने, साबुनपानीले हात धुने, सुरक्षित शौचालयको व्यवस्थापनलगायतमा ध्यान दिइएको उहाँले जानकारी दिनुभयो ।
क्वारेन्टिनको खर्च धान्नै गाह्रो
लकडाउन शुरु भएलगत्तै मजदुर तथा विपन्नलाई राहत बाँडेका बागलुङका स्थानीय तहलाई यतिबेला भने क्वारेन्टिनमा बसेकालाई खाद्यान्न पु¥याउन कठिन भइरहेको छ । कोरोना सङ्क्रमणको त्रासले भारत तथा देशका विभिन्न स्थानबाट गाउँ भित्रिएकाको व्यवस्थापनमा स्थानीय तहलाई हम्मे हम्मे परेको हो । यहाँका केही स्थानीय तहले खानपान र क्वारेन्टिनमा लत्ताकपडाको व्यवस्था मिलाएका छन् भने केहीले परिवारको सहायतामा व्यवस्थापन गरिरहेका छन् ।
कोरोनासँग जुध्न कोरोना कोष बनाएर स्वास्थ्य सुरक्षा सामग्री, खाद्यान्न र औषधिसमेत खरिद गरेका स्थानीय तहले पछिल्लो समय भारतबाट आउनेको उद्धार र व्यवस्थापनमा खर्च बढाएका छन् । बुधबार दिउँसोसम्म जिल्लाका क्वारेन्टिनमा एक हजार ४०० भन्दा धेरै छन् । विद्यालय, सामुदायिक तथा सरकारी भवनमा बनाइएका क्वारेन्टिनमा खानपान र बिस्ताराको व्यवस्था स्थानीय तहले गरेका छन् । “आफै बनाएर खान्छौँ भन्छन् तर पकाउनेमा सङ्क्रमण भए अरुलाई सर्ने त्रासले हामीले बनाएर खुवाउँछौँ”, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भन्नुभयो, “दिनप्रतिदिन गाउँ भित्रिने क्रम चलिरहेको हुँदा व्यवस्थापन कठिन बन्दै गयो ।”
क्वारेन्टिन समुदायबाट टाढा रहेकाले परिवारलाई व्यवस्थापन गर्न असहज हुने उहाँले बताउनुभयो । “खाना पनि गाडीबाट ढुवानी गर्नुपरेको छ, सबै व्यवस्था गर्दा स्रोत सकियो”, उहाँले भन्नुभयो, “प्रदेशले चाहिएको भए माग भनेर परिपत्र गरेको रहेछ, बजेट भए त जसोतसो गरौँला नत्र आगामी दिनमा गाह्रो छ ।” “अब सामुदायिक क्वारेन्टिनमा राखेर सम्भव छैन, होम क्वारेन्टिनको विधि अपनाउनुपर्र्छ”, काठेखोलाका अध्यक्ष थापाले भन्नुभयो, “कोरोना फैलिन नदिन बाहिरबाट आउने स्वयं जिम्मेवार बन्नै पर्छ ।” क्वारेन्टिनमा पाँच दिन समय कटाएर कोरोना जाँचका लागि पठाएको थ्रोट स्वाबको नतिजा आउन लाग्ने समयले पनि स्थानीय सरकारलाई व्ययभार थपिरहेको थापाको भनाइ छ ।
“परीक्षण रिपोर्ट समयमै आउँदा नेगेटिभ भएकालाई होम क्वारेन्टिन पठाउन सकिन्थ्यो तर ढिलागरी आउँदा खर्च बढेको छ”, काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले भन्नुभयो, “केन्द्र र प्रदेशले पनि अब सोच्नु पर्ने बेला आएको छ ।”
यता, उद्धारका लागि सवारीको व्यवस्थापन गरेको जैमिनी नगरपालिकाले क्वारेन्टिनमा बस्नेलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । पकाउने व्यवस्था स्वयं क्वारेन्टिनमा बस्नेले गर्नुपर्ने छ । खाद्यान्नको व्यवस्था गर्दामात्रै धान्नै नसक्नेगरी खर्च भइरहेको नगरपालिकाले जनाएको छ । “श्यया विस्तारा घरमै हुन्छन् ल्याउनु, जाँच भएर नेगेटिभ आए लैजाँदा हुन्छ, पोजेटिभ आए डिसइन्फेक्सन गरेर लान मिल्छ भनेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भन्नुभयो, “राहत भनेर खाद्यान्न दिन्छौंँ नजिक हुनेको परिवारले पकाएर खुवाउनुभएको छ, टाढा हुनेले आफैले पकाउनुहुन्छ ।” आर्थिक वर्षको अन्त्य हुने समय रहेकाले स्थानीय सरकारले बनाएको कोषले मात्रै नधान्ने र रकमान्तर गरेर स्रोत जुटाउन कठिन रहेको उनको भनाइ छ ।
भारतबाट आउनेको उद्धारमा अग्रपङ्क्तिमै रहेको बरेङ गाउँपालिकाको विधि पनि जैमिनीको जस्तै छ । तर, अहिले भएको स्रोतले भने बरेङलाई पनि धान्दैन । “हामीले आगामी वर्षको बजेटमा सम्बोधन हुनेगरी भए पनि व्यवस्था गरेकै छौँ”, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भन्नुभयो, “आफ्ना नागरिकलाई नआउ भन्न नमिल्ने, आएकालाई व्यवस्थापन गर्न कठिन हुने अवस्था आएको छ ।”
पछिल्लो समय परीक्षणका लागि सङ्कलन भएका स्वाबको सङ्ख्या बढेकाले गण्डकी प्रादेशिक प्रयोगशालामा पठाइएका स्वाबको पालो तीन दिनपछि मात्रै आउने गरेको छ । जिल्लाका दुर्गम गाउँपालिकाबाट सङ्कलन भएको स्वाबको रिपोर्ट आउन तीन दिन लाग्दा क्वारेन्टिनमा बसेकाको व्यवस्थापनमा खर्च बढ्दै गएको छ ।