८ मंसिर २०८१, शनिबार

१० जनामा कोरोना भेटिएपछि कचनकवलका ५ वडा सिल


कोरोना भाइरस

भद्रपुर, ७ जेठ । झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै ५ वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो । पालिकामा सात वडा रहेका छन् ।

शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरु सबैको पिसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो ।

उनीहरुमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोराना लागेको पुष्टि भएको थियो भने मङ्गलबार थप नौ जनामा पुष्टि भएको छ । उनीहरुलाई राखिएको क्वारेन्टिनमा समेत सिल गरिएको उहाँले बताउनुभयो । सोही पालिकाकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १४६ नेपाल प्रवेश गरेका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा ल्याएर राखिएको हुँदा गाउँबासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अञ्जार आलामले बताउनुभयो ।

मङ्गलबार पुष्टि भएका नौ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्यचौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !