४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा कोरोना जित्नेको संख्या ३३ पुग्यो, आज विराटनगरमा फेरि २ जना भए डिस्चार्ज


विराटनगरमा फेरि २ जना भए डिस्चार्ज

विराटनगर, २८ बैशाख । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित आज निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३३ पुगेको छ ।

गत वैशाख १३ र १४ गते भर्ना भएका भोजपुरका २६ वर्षीय उपेन्द्र राई र झापा दमकका  ४० वर्षीय मजाहिर आलम आइतबार डिस्चार्ज भएका हुन् । भोजपुरका युवक वैशाख १० र झापाका पुरुष वैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए।

साउदी अरबबाट फर्किएको ४१ दिनपछि भोजपुरका राईमा कोरोना संक्रमण देखिएको थियो । लगातार ३ पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड-१९ उपचार केन्द्रकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।

अब जनप्रतिनिधिको समन्वयमा उनीहरु घरमा नै क्वारेन्टाइन बस्नेछन् । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । कोभिड-१९ उपचार केन्द्रबाट यसअघि बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए ।

यस अघि डिस्चार्ज हुनेमा ७ जना भारतीय, २ जना विराटनगरका र ५ जना उदयपुर भुल्केका नागरिक थिए । अब १९ जना उपचार केन्द्रमा उपचाररत छन् । शनिबार उदयपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा संक्रमितको संख्या ३५ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !