८ पुस २०८१, सोमबार

कोभिड – १९ : सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण


होम क्वारेन्टाइन

दमौली, १७ चैत । नेपाली सेनाको सहयोगमा तनहुँको व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ । सोही वडाको चापाघाटमा रहेको कालीभञ्जन गणको सहयोगमा सम्भावित कोरोना भाइरस जोखिम हुन नदिन विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

सो भाइरसका शङ्कास्पद बिरामी र विदेशबाट फर्किएकालाई निगरानीमा राख्न विद्यालय हातामा टेण्ट हालेर क्वारेन्टाइन निर्माण गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “विदेशबाट फर्किएकालाई सुरक्षित रुपमा राख्नका लागि नेपाली सेनाको श्रमदानमा क्वारेन्टाइन बनाएका हौ,” उहाँले भन्नुभयो, “ गणबाट दश जनाले श्रमदान गर्नुभयो ।”

उक्त विद्यालयमा १३ श्ययाको क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइन निर्माणका लागि नेपाली सेनाले टेण्ट र श्यया सहयोग गरेको छ । व्यास नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार वडाभित्र विदेशबाट फर्किनेको विवरण सङ्कलन गरिएको र उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

उक्त वडामा विदेशबाट फर्किने ७ जनाको नाम सङ्कलन गरिएको छ । तीमध्ये दुई जनालाई उक्त क्वारेन्टाइनमा राखिएको र ५ जनालाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ । “दुवइबाट आएका एक महिला र एक पुरुषको इच्छा बमोजिम नै क्वारेन्टाइनमा राखिएको छ, उहाँहरुलाई हालसम्म कुनै पनि लक्षण देखा परेको छैन,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । क्वारेन्टाइनमा वाइफाईको व्यवस्था गरिएको छ भने स्वास्थ्यकर्मी पनि खटाइएको छ ।

सो भाइरसको जोखिम हुन नदिन लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कोही पनि घरबाट बाहिर नआउनुहोस्, घरमै सुरक्षित भएर बस्नुहोस् ।” क्वारेन्टाइनको सुरक्षाका लागि पाटनका भूपू सैनिक क्लवले र टोल विकास संस्थाले खाना व्यवस्था गर्ने भएको छ ।

यसैगरी सो गणको सहयोगमा व्यास नगरपालिका–३ स्थित एपोलो अस्पतालमा रुघाखोकीका बिरामीको परीक्षणका लागि छुट्टै कक्ष बनाइएको छ । उक्त कक्ष बनाउनका लागि सेनाले टेण्ट सहयोग गरेको अस्पतालका सञ्चालक चुडामणि दाहालले जानकारी दिनुभयो । अन्य बिरामीलाई अस्पतालकै भवनबाट सेवा प्रवाह गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !