२५ बैशाख २०८१, मंगलबार

लकडाउन लम्ब्याउने सरकारको तयारी, आज मन्त्रिपरिषद् बैठक बस्दै


मन्त्रिपरिषद्

१६ चैत, काठमाडौं । नेपाल सरकारले न्यूनतम आवागमन खोलेर लकडाउन लम्ब्याउने तयारी गरेको छ । नेपाल सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा १ साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएपछि गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी १ साता लामो लकडाउन घोषणा गरेको थियो ।

यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ । तर त्यसअघि नै लकडाउनको अवधि थप्ने निर्णय हुने स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले लकडाउनको अवधि थप्न लागिएको हो ।

लकडाउन अवधि थप्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ ।

यस्तै सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । केही स्थानीय तहले वडा कार्यालयमार्फत विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खाने व्यवस्था मिलाइरहेको र अन्यत्र पनि यसलाई प्रभावकारी बनाउन आवश्यक बजेट प्रबन्ध गर्ने तयारी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !