७ बैशाख २०८१, शुक्रबार

कोभिड-१९ : कैदीबन्दी भेटघाट बन्द


डोटी जिल्ला कारागार

डोटी, ९ चैत । जिल्ला प्रशासन कार्यालयले सिलगढीमा रहेको कारागारमा रहेका कैदीबन्दी भेटघाटको कार्यक्रमलाई बन्द गरेको छ । कोभिड-१९ को सङ्क्रमणलाई ध्यानमा राखी भेटघाट बन्द गरिएको हो । अत्यावश्यक परेको खण्डबाहेक अन्य सामान्यतय कैदीबन्दी भेटघाट केही समयका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

त्यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका लागि दैनिक स्वास्थ्य जाँच गर्न एक छुट्टै स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिएको छ । उक्त टोलीले कैदी तथा कर्मचारीलाई सामान्य बिरामी हुँदासमेत तत्काल प्राथमिक उपचार गर्ने गरी औषधीसहितको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

कैदीबन्दीलाई अत्यावश्यकरुपमा भेट्न आउनुपर्ने अवस्था सिर्जना भएमा अनिवार्यरुपमा मास्क लगाइ साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको कारागार प्रशासन प्रमुख राजन केशीले बताउनुभयो ।

निःशुल्क मास्क वितरण

दिपायलस्थित पिपल्ला बजारमा रहेको व्यापारीको संस्था डोटी चेम्बर अफ कमर्सले कोभिड– १९ को जोखिमबाट बच्न निःशुल्करुपमा मास्क वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका अस्पताल तथा बजारमा मास्क पाउन बन्द भएपछि उक्त संस्थाले आफ्नै लगानीमा जिल्ला बाहिरबाट मास्क ल्याएर सर्वसाधारणलाई निःशुल्करुपमा वितरण गर्न थालेको हो ।

सबैले सहजरुपमा मास्कको प्रयोग गर्नसकुन् भनेर आफ्नै लगानीमा मास्क खरिद गरी निःशुल्क वितरण गर्न थालिएको कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनुभयो । बजारमा मास्क भएर पनि कालोबजारी गर्ने तथा कृत्रिम अभाव गर्नेको खोजी गरी कानूनी कारवाहीका लागि प्रशासनमा जानकारी दिने कार्य पनि शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !