८ बैशाख २०८१, शनिबार

कोभिड-१९ : रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध


रक्तदान

कास्की, ९ चैत । कोभिड-१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले जनाएको छ । रगत अभाव भएपछि विभिन्न सङ्घसंस्थाले आकस्मिक कार्यक्रम आयोजना गरेका थिए ।

यहाँ प्रदेशका ११ वटै जिल्लाबाट उपचारका लागि आउने बिरामीको गर्दछन् । यहाँ ‘रिफरल अस्पताल’ समेत रहेका छन् । यहाँ दैनिक ७० युनिट रगत माग हुने गरेको बताइएको छ । यही चैत १५ गतेसम्मका लागि विभिन्न सङ्घसंस्थाको आयोजनामा गरिने रक्तदान कार्यक्रमको तालिका रहेकाले त्यस्ता कार्यक्रमलाई स्थगन नगर्न केन्द्रले आग्रहसमेत गरेको छ ।

केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले सम्भव भएसम्म नियमित रक्तदानका कार्यक्रम हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गत हप्ता पाँच वटा कार्यक्रम स्थगित हुँदा बजारमा रगतको अभाव भयो । अहिले १५ गतेसम्मलाई क्यालेडरमा छ । कोरोनाको जोखिमले वार्षिक कार्यक्रम स्थगित नगर्नुहोस् भनेका छौँ । आवश्यकता हेरेर रक्तदान गरे सहजरूपमा मागको पूर्ति हुने अवस्था छ ।”

शनिबार पोखरामा दुई संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ९५ युनिट रगत सङ्कलन भएको छ । विशाल को–अपरेटिम संस्था लिमिटेडको कार्यक्रमबाट ६१ युनिट तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा–८ ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३४ युनिट सङ्कलन भएको बताइन्छ । सोसाइटीले रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणसहितको बस सञ्चालनमा ल्याएपछि बसभित्रै रक्तदान गर्ने व्यवस्था मिलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !