१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशमा एकैदिन ३६ जनामा कोरोना संक्रमण


जिन सिक्वेनसिङ

बैतडी । सुदूरपश्चिम प्रदेशमा एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा सात सय ८० जनाको परीक्षण गर्दा ३६ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । सीमा नाकामै गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण कार्य जारी रहेको छ ।

आज चैत महिनामा सङ्क्रमण देखिएको यो सबैभन्दा बढी हो । यसअघि बुधबार यस प्रदेशमा ३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

नयाँ वर्ष मनाउन स्वदेश फर्कनेको क्रम बढेसँगै यहाँ सङ्क्रमण दरमा पनि वृद्धि भएको छ । नाकामा परीक्षण गरेर फर्किन दिइरहेको भए पनि सङ्क्रमितलाई होम आइसोलेशनमा बस्ने भन्ने गरिएको छ । सङ्क्रमितको होम आइसोलेशनमा नबस्दा समुदायमा जोखिम बढेको छ ।

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एक सय ६८ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !