१४ बैशाख २०८१, शुक्रबार

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे छलफल गर्न सीसीएमसीको बैठक


सीसीएमसीको बैठक

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे छलफल गर्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक जारी रहेको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारीस्वरुप सीसीएमसीको बैठक बिहान ११ बजे बसेको हो ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने तयारी गर्दै सीसीएमसीको बस्न लागेको बैठकमा स्वास्थ्य विज्ञहरुको राय लिन निमन्त्रणा समेत गरिएको छ । सरकारले कोरोनाको उक्त भेरियन्टको जोखिम बढेपछि उच्च सतर्कता अपनाउने भएको हो ।

जारी बैठकमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल भईरहेको छ । नेपालमा नयाँ भेरियन्ट आउन सक्ने सम्भावना रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । नयाँ भेरियन्टको पहिचान रोकथाम लागि सीमा नाकामा कडाइ र सुरक्षित हवाई उडानबारे छलफल जारी रहेको हो ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट नेपालमा आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिका हुँदै आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइन बस्न आग्रह गरेको छ । कोरोनाको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ ।

बैठकमा कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टाइन अनिवार्य बस्नुपर्ने नियम ल्याउनेदेखि विमानस्थलमै एन्टिजेन परीक्षण अनिवार्य गर्ने विषयमा समेत छलफल हुदैछ । नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशितक्षेत्र हङकङमा समेत संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु