८ बैशाख २०८१, शनिबार

कोरोनाकालमा खुलेको उद्यमको बाटो


नेपाल कोरोना

बागलुङ । चौध वर्षसम्म मलेशियामा श्रम-पसिना बगाएर फर्कनुभएका भवीन्द्र विक फेरि पनि विदेशै जाने योजनामा हुनुहुन्थ्यो । अझ राम्रो कमाइ हुने देखेर उहाँको मन दुबईतिर मोडिँदै थियो । भिषाको प्रक्रिया पनि थाल्नुभयो । सोचेझैँ जिन्दगी कहाँ छ र ?

दुबईको काम बेलैमा नसल्टिएपछि विक एकाएक भारत हान्निनुभयो । उत्तर प्रदेशको कानपुरमा होटलको काम शुरु गर्नुभयो । विक रोजगारीका लागि छिमेकी देश छिरेको आठ महिना पुग्दा/नपुग्दै कोरोना महामारीले विश्व आक्रान्त बन्यो । भारतमा पनि कोरोना सङ्क्रमण डरलाग्दो गरी फैलियो । बन्दाबन्दीको घोषणा भयो । त्यहाँ श्रम गर्ने नेपाली पैदलै स्वदेश फर्कन थाले । बयालीस वर्षीय विकले पनि घर फर्कने निर्णय लिनुभयो । विसं २०७६ चैत ९ गते उहाँ नेपाल आउनुभयो । ११ गतेदेखि त यहाँ पनि बन्दाबन्दी शुरु भयो ।

“दुबईका लागि प्रयास गरेँ, त्यहाँको प्रक्रिया ढिलो हुने भएपछि काम खोज्दै भारत गएको थिएँ”, गलकोट नगरपालिका–११ रिघाका विकले भन्नुभयो, “कोरोनाका कारण त्यहाँबाट पनि फर्कनुप¥यो ।” घर फर्केपछि बिनाइलम बस्न उहाँको मनले मानेन । विकको वैदेशिक रोजगारीकै भरमा घर खर्चदेखि छोराछोरीको पढाइ धानिन्थ्यो । कमाइको बाटो नै रोकिएपछि परिवारलाई समस्या पर्ने नै भयो । आफ्नोभन्दा पनि छोराछोरीको भविष्य देखेर विकको मन कुँडिन थाल्यो ।

महामारीको चपेटाबीच न तत्काल विदेश जान सक्ने स्थिति थियो, अर्कोतिर परिवारको मायाले जरक्क उठेर हिँड्न मनले मान्दैन्थ्यो । “महामारीको समयमा जे–जस्तो भए पनि परिवारसँगै बस्ने, बरु यहीँ दुःख गरेर खाने भन्नेमा पुगेँ”, विकले भन्नुभयो । भारतमा छँदा कोरोनाका कारण परिवारसँग भेट हुनै नपाइने हो कि भन्ने चिन्ताले आफूलाई गाँजेको विकले सुनाउनुभयो । स्वदेश फर्केपछि भने विकले कोरोनाकालमै जीवनलाई नयाँ मोड दिनेतिर सोच्न थाल्नुभयो । नेपालमै केही गर्ने अठोट लिनुभयो ।

बागलुङ नगरपालिका–३ रातमाटामा भाडामा घरजग्गा पाइएपछि विकले त्यही कृषि र पशुपक्षीपालन गर्ने योजना बनाउनुभयो । अध्ययनका लागि दुई छोरी र एक छोरासहित श्रीमती सदरमुकाममै भएकाले विकलाई व्यवसायमा हात हाल्न पनि सजिलो भयो । गत पुसदेखि उहाँले ‘हाम्रो कृषि तथा पोल्ट्री फार्म’ सञ्चालनमा ल्याउनुभएको छ । फार्ममा अहिले स्थानीय जातका कुखुरा, बट्टाई, हाँस, खरायो, बाख्रापालनसहित तरकारी खेती पनि छ । ऋणधन गरेर रु छ लाख फार्ममा लगानी गरेको विकको भनाइ छ । “व्यवसाय थालेको धेरै भएको छैन, विस्तारै लगानी पनि थप्दै जाने र फार्म पनि विस्तार गर्ने योजनामा छु”, विकले भन्नुभयो ।

फार्ममा अहिले ३०० स्थानीय जातका कुखुरा, २०० बट्टाई, हाँस, खरायोलगायत छन् । स्थानीय जाततर्फ साकिनी, लुइँचे र गुजुमुजे कुखुरापालन गरिएको छ । सबै खर्च कटाएर अहिले मासिक रु २५ हजार जति आम्दानी निस्कने गरेको विकले बताउनुभयो । व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारीमा उहाँ हुनुहुन्छ । फार्ममा उत्पादित कुखुरा, बट्टाई र अण्डाका लागि बजारको भने कुनै समस्या छैन । “धेरैजसो फार्मबाटै बिक्री हुन्छ, माग आउँदा बजारमा पनि पुर्याउँछौँ”, विकले भन्नुभयो । स्थानीय जातको कुखुरा प्रतिकिलो रु ८०० र अण्डा प्रतिक्रेट रु ५०० मा बिक्री हुन्छ । यस्तै बट्टाईको अण्डा प्रतिक्रेटलाई रु २८० पर्छ । मासुका लागि बट्टाईको भाले किन्दा रु २५० सम्म पर्ने गरेको छ ।

फार्मका लागि वार्षिक रु ७० हजार भाडा तिर्ने गरी चार रोपनी जग्गा भाडामा लिएको विकले बताउनुभयो । फार्ममा दैनिक काम घरकै सदस्यले गर्छन् । विकलाई श्रीमती जुनमायाको दरिलो साथ छ । ठूली छोरीको सिलाइ व्यवसाय छ । अर्की छोरी स्नातक र छोरा कक्षा ११ मा पढ्छन् । छोराछोरीले पनि बावुआमालाई काममा उत्तिकै सघाउँछन् । विकले फार्मका लागि अहिलेसम्म कसैको अनुदान वा सहयोग लिनुभएको छैन । “अहिले त लगानी पनि थोरै छ, व्यवसाय थप विस्तार गर्दैछु”, उहाँले भन्नुभयो, “आफू पनि यहीँ स्वरोजगार हुने सके अरुलाई पनि काम दिने सोचमा छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !