२० बैशाख २०८१, बिहिबार

पाल्पामा कोरोना सङ्क्रमण–अनुभव र व्यवहार


कोरोना नयाँ भेरियन्ट बी १.६१७

रामपुर । रामपुर नगरपालिका–३ गण्डकीढिक बस्ने ९२ वर्षीय नामदेव न्यौपानेले कोरोनालाई परास्त गरी घर फर्केपछि उहाँका परिवार, इष्टमित्र सबै खुशी छन् । घरमै आइसोलेशनमा करिब २२ दिन उच्च आत्मबल र अनुशासनका साथ बसेका न्यौपानेको अनुभव यतिखेर बालबालिकादेखि बृद्धसम्म सबैका लागि प्रेरणाको स्रोत बनेको छ ।

उमेरले नौ दशक काटेका न्यौपानेले कोरोना पोजेटिभ देखिएपछि अनुशासनमा रहेर सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेशनमा बस्नुका साथै औषधोपचार, खानपानमा राम्रै ध्यान दिएकाले कोरोना जित्न सफल भएको अनुभव सुनाउनुहुन्छ । जनस्वास्थ्यका मापदण्ड अपनाएर अनुशासनमा बसेमा कोरोना सहजै जित्न सकिने उहाँको अनुभव छ ।

“कोरोना केही होइन भनेर जथाभावी हिँड्डुल गर्ने, खानपानमा ध्यान नदिने, स्वास्थ्य सुरक्षा नअपाउँदा जोखिम बढेको छ, मलाई लाग्छ कोरोना हाउगुजीजस्तै हो, अनुशासनको पालना गरौँ, कोरोना भन्दैमा नआत्तिऔँ, आत्मबल बढायौँ भने कोरोना जितिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले घरायसी तथा आधुनिक औषधि पनि सेवन गर्नुभयो । कोरोना रोग जितेपछि उहाँ अहिले घरभित्र बाहिर मज्जाले हिँड्डुल गर्नुहुन्छ । उहाँलाई गत वैशाख १२ गतेदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । बुबाले कोरोना जितेको देख्दा घर परिवार सबै हर्षित बनेको छोरा विष्णु न्यौपाने बताउनुहुन्छ ।

“बुबालाई कोरोना पोजेटिभ देखिएपछि उहाँको रेखदेखमा हामी सबै परिवार सतर्क भएर लाग्यौँ, बुबाले आइसोलेशनमा रहँदा केही दिन होस नपाउने, आत्तिने गर्नुहुन्थ्यो, रेखदेख उपचार निरन्तर गरिरहँदा २२ दिनपछि कोरोना जित्नुभयो”, उहाँले भन्नुभयो ।

रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने दोवराज तिवारी पनि पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि २२ दिन घरमै आइसोलेशनमा बस्नुभयो । उहाँमा शुरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थिएन । तैपनि पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि आपूm, परिवार, आफन्त र छिमेकीको सुरक्षाका लागि घरमै बस्नुभयो ।

उहाँले आइसोलेशनमा रहँदा सरकारले निर्देशन गरेका स्वास्थ्य मापदण्ड पालना गर्ने, नियमित औषधोपचार, स्वास्थ्यकर्मीसँगको परामर्श तथा सल्लाहमा रहनुभयो ।

उहाँ भन्नुहुन्छ, “पिसिआरमा पोजेटिभ रिपोर्ट आयो तर आपूmलाई शुरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण कुनैपनि देखिँदैन, कोरोना हो या होइन भन्ने दोधार पनि भयो, बीचमा भने सामान्य अप्ठ्यारो महसुस भयो, तर कोरोना लाग्यो भनेर मलाई कत्तिपनि डर भएन” ।

उहाँलाई सङ्क्रमण देखिएको खबर सुनेपछि आफन्त, साथिभाई भेटघाटका लागि जाँदा उहाँ आफँैले अरुलाई सङ्क्रमणबारे सजग रहन सिकाउने, आत्मबल बढाउने जस्ता सल्लाह दिने गर्नुहुन्थ्यो ।

अहिले उहाँ आइसोलेशनबाट कोरोनालाई पराजित गरेर निस्केपछि सङ्क्रमितका घर घरमा स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्ने र सङ्क्रमित र उनका परिवारलाई आत्मबल बढाउन प्रेरित गर्नुहुन्छ ।

पाल्पाको सामूदायिक रेडियो रामपुरका स्टेशन प्रबन्धक छबिलाल खनालले दुई÷दुई पटक कोरोनासँग लडाइँ लड्नुभयो । खनाललाई गतवर्ष र यसवर्ष कोरोना सङ्क्रमणको भाइरसले आक्रमण ग¥यो तर उहाँ भने कोरोनासँग कत्तिपनि हतोत्साहित हुने, डराउने र बिचलित हुने गर्नुभएन ।

आफूुलाई सङ्क्रमण देखिएपनि हिम्मत गर्नुभयो, आत्मबल बढाउनुभयो, दुई पटकसम्म कोरोना जित्नुभयो । उमेरले ५८ वर्ष पुग्नुभएका खनालमा गतवर्ष पहिलो पटक कोरोना सङ्क्रमण देखिँदा ढाड धेरै दुख्ने, स्वाद, गन्ध थाहा नपाउने, सामान्य ज्वरो आउने समस्या थियो ।

पहिलो पटक सङ्क्रमित हुँदा उहाँ २६ दिन घरमै आइसोलेशनमै बसेर कोरोना जित्नुभयो । दोस्रो पटकको कोरोनाले आक्रमण गरेपछि १६ दिन घरमै आइसोलेशनमा बसेर कोरोना जित्न सफल हुनुभएको छ ।

“पहिलो पटक पोजेटिभ देखिदा कोरोनासँग मिल्दोजुल्दो केही समस्या देखिएको थियो, दोस्रो पटकको कोरोना देखिँदा एक दुई दिन रुघाखोकी लाग्ने बाहेक खासै समस्या भएन, आफूमा कुनै समस्या नभएपनि पोजेटिभ देखिएपछि सतर्क भएर घरमै बसेँ अहिले निको भएपछि आफ्नै दैनिक कामकाजमा लागेको छु”, उहाँले भन्नुभयो ।

अहिले उहाँ पनि कोरोना सङ्क्रमितलाई आत्मबल बढाउन आफ्ना अनुभव सुनाउने गर्नुहुन्छ । उहाँले आपूmमा पोजेटिभ सङ्क्रमण देखिएपछि नियमितरुपमा बेसारपानी, तेजपत्ता, तुलसीपत्रलगायतका विभिन्न घरायसी जडिबुटी, स्वास्थ्यकर्मीले दिएका औषधि र सल्लाह तथा परामर्शलाई निरन्तर अबलम्वन गर्नुभयो ।

रामपुर नगरपालिका–३ रजघरा बस्ने ७९ वर्षीय केशमाया कंडेलले भने रामपुर अस्पतालको कोभिड अस्पतालबाट कोरोना जित्नुभयो । अस्पतालको आइसोलेशन कक्षमा उपचाररत कंडेलले दश दिन बसेर कोरोना जित्नुभएको हो ।

“कोरोना पोजेटिभ देखिएपछि सुरुमा धेरै डर लागेको थियो, केही दिन घरमै आइसोलेशनमा बसेँ, स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल भर्ना भएँ, मेरो उपचारमा डाक्टरले धेरै खटेर सञ्चो बनाउनुभयो, अहिले म आपूmलाई बिरामी हुँ जस्तो पनि लाग्दैन” उहाँले खुशी हुँदै भन्नुभयो । आफ्नो उपचारमा निरन्तर खटेर निको गराउने स्वास्थ्यकर्मीलाई उहाँले धन्यवाद दिनुभएको छ ।

कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा रहनुभएकी कंडेल स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा आउनुभएको थियो । उहाँको स्वास्थ्यमा अलि बढी समस्या देखिएपछि कोभिड अस्पतालमा भर्ना गरेर राखियो ।

उहाँ अस्पताल भर्ना हुन आउँदा आत्तिरहनुभएको थियो, स्वास्थ्यकर्मीको निरन्तर औषधि उपचार र रेखदेखले छिट्टै निको बनाएर घर पठाइएको कोभिड फोकल पर्सन डाक्टर बासुदेव सुवेदीले जानकारी दिनुभएको छ । कोरोनाका बिरामीलाई नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहन निमिक्त मेडिकल सुपरीटेण्डेन डाक्टर विजय परियारले अनुरोध गर्नुभएको छ ।

सङ्क्रमित परिवारलाई समाज, आफन्तले गर्ने व्यवहार

हाम्रो समाज अझैपनि पुरानो सोँच र मान्यतामा नै जकडिएको छ । अहिले पनि यहाँको अवस्था हेर्दा कोरोना सङ्क्रमित रोगलेभन्दा पनि बढी सामाजको तिरस्कारले पीडित छन् भन्दा पनि हुन्छ । गाउँमा एक जना छिमेकीको घरमा कोरोना सङ्क्रमण पुष्टि भयो भन्ने खबर आएपछि छरछिमेक, आफन्त सबैले हेर्ने नजर नकारात्मक छ ।

सङ्क्रमित र उनका परिवार सतर्क रहेर बसेपनि छिमेकी, आफन्तले आवतजावत बन्द गर्ने, मेलापात, कुराकानीदेखि टाढा रहने गर्दा सङ्क्रमितलाई रोगले होइन समुदायले गर्ने नराम्रो व्यवहारले स्वास्थ्यमा थप समस्या पारिरहेको हुन्छ ।

कोरोना सङ्क्रमितको घरको नजिकैको बाटो भएर हिड्ने छिमेकी पनि सङ्क्रमण देखिएको दिनदेखि नै कतिपयले बाटो नै परिवर्तन गरेको सङ्क्रमितका परिवारको अनुभव छ । निको भए पश्चात पनि समाजले उनीहरूलाई राम्रो नजरले हेर्दैनन् ।

बाटोमा हिँड्ने क्रममा भेटिए सञ्चो बिसञ्चो सोध्नुको सट्टा उल्टै बाटो नै तर्किएर हिड्ने, एैँचोपैँचो, मेलापातजस्ता कार्यमा पनि कतिपय छिमेकी टाढिने गरेको सङ्क्रमितको गुनासो छ ।

सङ्क्रमितका परिवार भन्छन्, “हामी कोरोना रोग लाग्यो भनेर डर त्रासमा छैनौँ, तर छिमेकी, आफन्त, साथीभाई टाढिने, नराम्रो सोँच्ने व्यवहारले आइसोलेशनमा बस्दा पनि खिन्नता लाग्ने बनायोँ, तर पनि हिम्मत हारेनौँ, आत्मबल बढायौँ, कोरोना जित्यौँ” ।

दोस्रो पटक देखिएको नयाँ भेरिएण्टसहितको कोरोना सङ्क्रमणले गाउँ गाउँमा प्रभाव पारेको छ । गतवर्ष गाउँका केही परिवारमा एक÷दुई जना सदस्यलाई मात्रै कोरोना पोजेटिभ देखिएको थियो भने यसवर्ष कुनै कुनै परिवारका सबैजसो सदस्य कोरोनासँग जुधिरहेको पाइन्छ ।

नेपालका विभिन्न शहर, भारतलगायतका विभिन्न मुलुकमा बसोबास गरेका नागरिक निषेधाज्ञाको समय जारी भएपछि गाउँ भरिदा पनि उनीहरूबाट सङ्क्रमण फैलिएको छ । कतिपयले कोरोनाको कहर अवस्था सामान्य नहुँदै विभिन्न शहरमा घुमघामका लागि जाँदा पनि सङ्क्रमण गाउँमा भित्रिएको छ । कतिपयले त अझैपनि कोरोना के हो र ? भन्ने हेलचेक्र्याइले स्वास्थ्य मापदण्ड पालना नगर्दा पनि सङ्क्रमण बढेको हो ।

अर्कोतर्फ परिवारका कुनै सदस्यलाई सङ्क्रमण देखिएपनि समाज, छिमेकी र आफन्तले गर्ने नराम्रो व्यवहारका कारण घरमै बस्दा पनि परिवारका अन्य सदस्यमा सङ्क्रमणले आक्रमण गरेको पाइएको छ ।

पहिलो चरणको कोरोना सङ्क्रमणबाट पाल्पामा २०७७ चैत २९ गतेसम्मको विवरणअनुसार दुई हजार नौ जना सङ्क्रमित भएका छन् । जसमा ५८० महिला र एक हजार ४२० पुरुष छन् । त्यस अवधीमा ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । समूदायस्तरमा एक हजार १९७ जनामा सङ्क्रमण फैलिएको थियो ।

पाल्पा जिल्लामा २०७८ जेठ २४ गतेसम्मको स्वास्थ्य कार्यालय पाल्पाको विवरणअनुसार पिसिआर प्रविधि र एन्टिजेन प्रविधिबाट छ हजार १७७ जना सङ्क्रमित रहेका छन् । जसमा चार हजार ९७० पिसिआर प्रविधि र एक हजार २०७ एन्टिजेन परिक्षणका क्रममा पोजेटिभ देखिएको हो ।

२०७८ वैशाख यता जेठ २४ गतेसम्मको प्राप्त रिपोर्टअनुसार चार हजार १६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म ९४ जना (पहिलो र दोस्रो चरणमा गरी जेठ २४ गतेसम्मको विवरणअनुसार) को कोरोनाका कारण निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

विभिन्न अस्पतालमा ५७ जना बिरामी उपचारतमध्ये आइसियुमा दुई र एचडियुमा २६ जना, होम आइसोलेशनमा ८२६ जना रहेका छन् । हालसम्म कोरोनाबाट पाँच हजार २०० निको भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !