१९ बैशाख २०८१, बुधबार

अन्तत: कोरोनालाई जिते पूर्वराजा ज्ञानेन्द्रले, कस्तो छ कोमलको स्वास्थ्य अवस्था ?


पूर्व राजा

काठमाडौँ । अन्तत: पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसंगै कोरोनालाई जितेका हुन् ।

कोरोना रिपोर्ट नेगेटिभ आएपनि शाहलाई अक्सिजनको सहायतामा उपचार जारी राखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार आएर सामान्य भएपछि अक्सिजन दिन छाडिएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ । योसंगै शाहका शुभचिन्तकहरुमा खुशियाली छाएको छ ।

यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले बताएको छ । यद्यपि उनको प्लाज्मा थेरापी विधिबाट उपचार भई रहेको छ । कोमलको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी रहेको छ ।

पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । साथै पूर्व अधिराजकुमारी प्रेरणा शाहको यसअघि कोरोना रिपोर्ट नै नेगेटिभ आइसकेको छ । पूर्वराजपरिवारका सदस्यहरु केहि समयपछि नै अस्पतालवाट डिस्चार्ज हुने बुझिएको छ ।

कोरोना संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा आराम गरिरहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका थिए । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमललाई गत वैशाख ७ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !