१८ बैशाख २०८१, मंगलबार

बाँके ५ र रुपन्देहीमा २ गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

रुपन्देही । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण बाँके र रुपन्देहीमा थप ७ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जना र १ जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका बुटवल-१ का ४८ वर्षका पुरुषको गएराति ११ बजे मृत्यु भएको हो भने गत २२ गते नै भर्ना हुनुभएकी बुटवल-११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५५ पुगेको छ ।

यसैगरी बाँकेमा मृत्यु हुनेमा ४ जना नेपालगञ्ज र १ जना बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा वैशाख १६ गते भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ निवासी ३८ वर्षीया महिलाको आज बिहान, बैशाख २१ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ निवासी ६४ वर्षीय पुरुषको गएराति, वैशाख २४ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १२ निवासी ६७ वर्षीय पुरुष र वैशाख २३ गते भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ निवासी ५२ वर्षीय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० निवासी ३८ वर्षीया महिला बिहान मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट एक सय ७४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ३१ जनाको मृत्यु भएको छ ।

तीब्र गतिमा कोरोना भाइरसको संक्रमण बढिरहेको बाँकेमा गएराति ७३१ नयाँ संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा १०१८ जनाको पिसिआर जाँच गर्दा ७३१ जनामा कोरोना देखिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा ४८० को परीक्षण गर्दा ३४३, शिक्षण अस्पताल कोहलपुरमा २०२ को परीक्षण गर्दा १५८ र नेपालगञ्जस्थित बागेश्वरी प्रयोगशालामा ३३६ को परीक्षण गर्दा २३० जनामा कोरोना पुष्टि भएको छ । ७३१ जनामध्ये बाँकेका ५०४ जना रहेका छन् । बाँके अस्पतालमा रहेका ५९७ मध्ये भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । होम आइसोलेसनमा ३९३५ जनाले स्वास्थ्य लाभ गरिरहेको स्रोत व्यक्ति वलीले बताए । शुक्रबारमात्रै बाँकेमा १०९ जनाले कोरोना जितरे घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !