२६ बैशाख २०८१, बुधबार

स्वास्थ्य सामग्री लिन बेइजिङ उड्यो निगमको वाइडबडी जहाज


वाइडबडी

काठमाडौँ । सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आज साँझ चीनको राजधानी बेइजिङ उडेको छ । सरकारको निर्णय अनुसार कोभिड-१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको निगमले जनाएको छ ।

निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार साँझ ५ः३० बजे काठमाडौँबाट बेइजिङ प्रस्थान गरेको छ । सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । सोही दिन राति ८ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप ८ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौँ–बेइजिङ उडान गर्ने निगमको तयारी बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरिएको छ ।

कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवं सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ । नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ ।

सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्वपूर्ण कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोही अनुरुप आन्तरिक तयारी पूरा भएको निगमले उल्लेख गरेको छ । निगमको ए ३३० जहाज काठमाडौँ–बेजिङ–काठमाडौँ उडान कूल ब्लक १२ घण्टा ५ मिनेट रहनेछ । निगमले कोभिड विरुद्धको खोप लिन पहिलोपटक उडान गर्न लागेको हो ।

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !