२५ बैशाख २०८१, मंगलबार

कोरोनाको खोप किन्न दातासँग हात फैलाउँदै सरकार : तत्काल प्रक्रिया बढाउन आवश्यक


कोरोना भाइरस विरुद्धको खोप

काठमाडौँ । कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो ।

कोषमा सरकारले निश्चित रकम राखेर दाताहरुलाई सहयोगका लागि आह्वान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरुलाई आग्रह गरिसकेका छौँ,’ मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘दाताले स्वास्थ्यका लागि अन्य क्षेत्रमा दिने सहयोग पनि कोषमा राख्ने व्यवस्था गर्न लागेका छौँ ।

कोरोना खोप खरिद गर्न कम्तीमा ४८ अर्ब आवश्यक पर्ने अनुमान मन्त्रालयले गरेको छ । कोषमा राख्नेबाहेकको रकम पनि थप जुटाउन सार्वजनिक रुपमै सरकारले आह्वान गर्ने विषयमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ । मन्त्रालयले यस विषयमा तयारी गर्न नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीको संयोजकत्वमा टोली बनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको विकास, विस्तार तथा सञ्चालन गर्न पाँच वर्षअघि राष्ट्रिय खोप कोषको नियमावली जारी गरिएको थियो । अब बन्ने कोष यसअघिको ‘कोभिड कोष’ जस्तै हुनेछ । कोभिड कोषमा व्यक्तिगत, संस्थागत, स्थानीय तह, प्रदेश र संघीय सरकारले रकम राखेका थिए ।

नियमावली अनुसार प्राकृतिक प्रकोप, महामारीमा आवश्यक पर्ने खोपसमेत यही कोषमा जम्मा भएको रकमले खरिद गर्न सकिने छ । यो नियमावली जारी भएलगत्तै कोष सञ्चालनमा रहेको भए अहिले भ्याक्सिन खरिद गर्न सहज हुन्थ्यो । कोषको रकमले राष्ट्रिय खोप कार्यक्रममा प्रयोग हुने खोप निजी क्षेत्रको साझेदारीमा मुलुकभित्र उत्पादन गर्न लगानी गर्ने प्रावधान समेत नियमावलीमा छ ।

तर विज्ञहरुले खोप खरिदका लागि जतिसक्दो प्रक्रिया सुरु गर्न सरकारलाई सुझाव दिएको छ । मुलुक सुहाउँदो खोप उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरी आपूर्ति सुनिश्चित नगरिए खोप बनिसकेपछि ल्याउन ढिलाइ हुने उनीहरुको भनाइ छ । उनीहरुको धारणा अनुसार तत्काल प्रक्रिया बढाउन आवश्यक छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !