१४ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा ४९८ कोरोना संक्रमित थपिए, गण्डकीमा थप तीन जनाको मृत्यु


प्रदेश १

विराटनगर, २२ कात्तिक । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४९८ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये महिला १९८ र पुरुष ३०० रहेका छन् । आज थपिएको सङ्क्रमितमा मोरङमा २०२ मध्ये विराटनगरमा ११७, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६/१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा दुईदुई, भोजपुरमा एक र प्रदेश बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ६१५ पुगेको छ भने आज ५२७ सहित अहिलेसम्ममा १३ हजार ५६७ जना निको भएर घर फर्किएका छन् । आज डिस्चार्ज हुनेमा सबै भन्दा बढी होमआइसोलेशनबाट ५२४ जना रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा दुई हजार ६७५ जना सहित कुल एक लाख ६९ हजार ९९५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

गण्डकीमा तीन जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । यस अवधिमा १७ जना निको भएका छन् ।

प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या नौ हजार १७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म निको हुने सङ्क्रमित चार हजार ८५२ रहेका छन् । सङ्क्रमणका कारण हालसम्म १०३ जनाले ज्यान गुमाउनुका साथै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ ।

आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन

कोरोना महामारीको समयमा अस्पतालमा उपचारत बिरामीलाई रगतको कमी नहोस् भन्ने उद्देश्यका साथ नेपाल सङ्गीतकर्मी सङ्घ कास्कीद्वारा आज आयोजित आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन भएको छ । कोरोना महामारीसँगै ठाउँ ठाउँमा रगतको अभाव रहेको अवस्थालाई दृष्टिगत गर्दै आकस्मिक रक्तदान गरिएको सङ्घका सल्लाहकार कृष्ण रानाभाटले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। ४ का वडाध्यक्ष शंकर वास्तोला, पोखरा उद्योग वाणिज्य संघकी सदस्य मुना वास्तोला, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्यद्वय राजकुमार हुमागाई र सन्तोष अधिकारी, गण्डकी प्रदेशका महासचिव तथा जिल्ला सल्लाहकार कृष्णप्रसाद गौतम, संघका अध्यक्ष ऋषिराम दाहाल लगायतले कोरोना महामारीको जोखिम बढिरहेको अवस्थामा आ आफ्ना तवरबाट सजग बन्नुको विकल्प नभएको बताउनुभयो । महामारीका समयमा गरिएको आकस्मिक रक्तदानले अस्पतालमा रगतको अभावमा छटपटाएका बिरामीका लागि राहत मिल्नेमा उहाँहरूले जोड दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !