२५ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमित व्यक्तिहरु बाहिर हिँडडुल गरेमा ६ महिनासम्म जेल सजाय हुने


कोरोना संक्रमित

काठमाडौं, असोज २३ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमित व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको चेतावनी दिएका हुन् ।

संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका हुन् । पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई मापदण्ड अनुसार आइसोलेसनमा बस्न अनुरोध गरेको हो । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

प्रवक्ता डा. गौतमले केही व्यक्तिहरु कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिसकेको बताए । मन्त्रालयले कोरोना संक्रमणको शंका लागेर पिसिआर परीक्षण गर्न दिएका सबै व्यक्ति रिपोर्ट नआएमा घरमा क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।

कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए । दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !