६ आश्विन २०८१, आइतबार

क्यान्सर अस्पतालले सञ्चालनमा ल्यायो पिसिआर प्रयोगशाला


बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

चितवन, २२ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी आजबाट कोरोना परीक्षण थालिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देवकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै आजबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

आइतबार स्वाब सङ्कलन गरिएका ११७ वटा नमूना परीक्षणका लागि राखिएको छ । ती नमूनाको नतिजा आजै आउने उहाँले जानकारी दिनुभयो । अस्पतालले पिसिआर परीक्षण शुल्क रु तीन हजार ५०० तय गरेको छ । एक दिनमा चार सयसम्म नमूनाको परीक्षण गर्न सकिने उहाँकोे भनाइ छ ।

सो अस्पतालमा देशभर र भारतबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् । पिसिआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज हुने गौतमको भनाइ छ । सङ्क्रमणका कारण आइतबारसम्म अस्पतालका ४६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् ।

समयमा पिसिआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो । सो बाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पताल र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् ।

सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ । क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसरमा भदौ २४ गते प्रयोगशालाको विधिवत उद्घाटन गर्ने जनाएको छ । जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ३८ पुगेको छ । सङ्क्रमणकै कारण यहाँका अस्पतालमा २२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये १२ जना चितवनका हुन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !