१४ पुस २०८१, आइतबार

कोभिड–१९ रोकथाम नियन्त्रण गर्न प्रदेशमा उच्चस्तरीय समिति


भानुभक्त ढकाल

काठमाडौँ, ५ भदौै । कोभिड –१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समन्वय गर्न हरेक प्रदेशमा उच्चस्तरीय समिति गठन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँंग समन्वय गरी कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गर्नुभएको हो ।

मन्त्रालय वा विभागका ११ औँ तहका कर्मचारीको संयोजकत्वमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति रहेको छ ।

समितिले प्रदेशमा कोभिड –१९ को रोकथाम र नियन्त्रण गर्न र अन्य नियमित सेवा प्रवाह गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँंग समन्वय गर्ने छ । दुईदेखि तीन हप्ता समय दिइएको समितिले स्थलगत अवस्थाको अध्ययन गरी प्रदेशमा रहेका अस्पताल, स्थानीय तह, प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक प्रयोगशाला, प्रदेश आपूर्ति केन्द्र एवं सामाजिक विकास मन्त्रालयसंँग समन्वय गरी कोभिड –१९ का बिरामीलाई सघन उपचार कक्ष र भेन्टिलेटर व्यवस्था गर्ने छ ।

यस्तै समितिले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन समन्वय गर्ने, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई अनिवार्य रुपमा मापदण्डअनुसार क्वारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने र पिसिआर परीक्षणको व्यवस्थाको समन्वय गर्ने छ ।

यसैगरी समितिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोभिड –१९ को सङ्क्रमणमा परी अस्पताल सञ्चालनमा समस्या परे हब तथा सेटलाइट अस्पतालबाट स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारीको व्यवस्थापनमा समन्वय गर्ने, कोभिड– १९ डेडिकेटेड अस्पतालमा अक्सिजन प्लान्ट निर्माण यथाशीघ्र गर्नका लागि पहल गर्ने, आइसियु र भेन्टिलेटरको व्यवस्थापनमा समन्वय गर्ने, एम्बुलेन्स सेवा व्यवस्थापनका लागि समन्वय गर्नेलगायत काम गर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !