२५ बैशाख २०८१, मंगलबार

वीरगञ्जको नारायणी अस्पतालका चिकित्सकसहित थप ४९ जनामा कोरोना पुष्टि


नारायणी अस्पताल

वीरगञ्ज, साउन ३०। पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा हिजो २९ गते बिहीबार राति गरिएको परीक्षणमा बारा, पर्सा र महोत्तरीका थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि हुने ४९ जनामध्ये २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिका, २ जना महोत्तरीको जलेश्वर नगरपालिका, १ जना बाराको विश्रामपुरका र १ जना वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।

पर्सा जिल्लाका २६ जना कोरोना संक्रमितमध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । नारायणी अस्पताल स्रोतका अनुसार १२ महिलासहित २ वर्षदेखि ६९ वर्ष उमेर समूहका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको एनआईसीयू विभागका १ जना चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका १/१ जना स्टाफमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका ३ जना स्विपर, ३ जना सुरक्षा गार्ड र १ जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

४ जना संक्रमितमा खोकी र ज्वरोको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षण गर्न आएका ६ जनामा कोरोना पुष्टि भएको छ । ग्लोबल आईएमई बैंकका १ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाका १९ जना कोरोना संक्रमितमध्ये ६ जना वडा नम्बर २५ का र ३ जना संक्रमित वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । साथै अन्य कोरोना संक्रमित वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ का स्थायी बासिन्दा रहेका छन् । जितपुरस्थित आर्मी ब्यारेकका १ जना सैनिकमा पनि कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !