२६ बैशाख २०८१, बुधबार

सेना, डाक्टर, बैंकका कर्मचारीसहित प्रदेश २ मा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

वीरगन्ज, साउन २२ । पर्सा जिल्लामा आज बिहान थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जना पुरुषहरु र ६ जना महिलाहरु गरी थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा नेपाली सेना, डाक्टर, बैंकका कर्मचारी समेत रहेका छन् । वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका ५ जना सैनिकहरु र वीरगन्ज कारागारमा कार्यरत ७ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै वीरगन्जकै नेपाल इन्भेस्टमेन्ट बैंकमा कार्यरत २८ बर्षका पुरुष कर्मचारी १ जना र नारायणी अस्पतालमा उपचाररत मृगौला रोगी वीरगन्ज-१० की ३५ वर्षिया महिला १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

साथै वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ वर्षदेखि ७३ वर्षसम्म उमेर समुहका २४ जना, पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका-२ का २७ वर्षीय पुरुष १ जना, पोखरिया नगरपालिका-६ का ३३ वर्षीय पुरुष १ जना र वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासमा कार्यरत ३० वर्षीय पुरुष १ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बाराको देवताल गाँउपालिका घर भएका ३३ बर्षका पुरुष १ जना, बाराकै प्रसौनी-२ घर भएकी ७३ वर्षिया बृद्धा १ जना, रौतहट मौलापुरका २७ वर्षीय पुरुष १ जना र महोत्तरी जिल्ला घर भएका ३७ वर्षीय चिकित्सक १ जनामा पनि संक्रमण पु्ष्टि भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !