२७ बैशाख २०८१, बिहिबार

सिरहामा ८१ वर्षीया वृद्धासहित ६३ जनाले कोरोना जिते


कोरोना संक्रमण मुक्त

सिरहा, असार २० । सिरहा जिल्लामा ८१ वर्षीया वृद्धासहित ६३ जना कोरोना भाइरस (कोभिड-१९) जितेर घर फर्किएका छन् । चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा बसेकी सिरहा नगरपालिका १९ सन्हैठाकी ८१ वर्षीया कागतीदेवी मण्डल कोरोना जितेर घर फर्किएकी हुन् ।

घरका सदस्य कोरोना संक्रमित भएपछि मण्डललाई सिरहा क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । २ साता क्वारेन्टाइन वसाईकाे क्रममा गरिएकाे परीक्षणमा उनमा पनि कोरोना संक्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको थियो ।

करिब २० दिनमा दुई पटक स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिर्पोट निगेटिभ आएपछि मण्डललाई डिस्चार्ज गरिएको छ । उनीसँगै सिरहाको चन्द्र माध्यमिक विद्यालय र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेसनबाट ६३ जना डिस्चार्ज भएका छन् । चन्द्र माध्यमिक आइसोलेसनवाट ४९ जना र महेन्द्र गेनाईवाट १४ जनालाई डिस्चार्ज गरिएको डा. सुभाष मण्डलले जानकारी दिए ।

डिस्चार्ज हुनेहरु लहान नगरपालिकाका ३, धनगढीमाई नगरपालिकाका २, कर्जन्हा नगरपालिकाका १ र सिरहा नगरपालिका क्षेत्रका ५७ जना रहेका छन् । महेन्द्र गेनाईमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा २४ जना गरी ४९ जना कोरोना संक्रमित अझैं रहेको डा. मण्डलले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !