६ आश्विन २०८१, आइतबार

पिसिआर प्रयोगशाला बनाउन समिति


पिसिआर

बैतडी, ३१ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा कोरोना परीक्षण गर्न पिसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिना पुग्नै लागेको छ । गत चैत १५ गतेको मन्त्रिपरिषद्को बैठकले धनगढी, बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । धनगढीमा प्रयोगशाला भए पनि बैतडी र डोटीमा अझै प्रयोगशाला बनाउने काम हुनसकेको छैन ।

प्रयोगशाला बनाउन आवश्यक समन्वय गर्न र दबाब दिन जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिले प्रयोगशाला बनाउन प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । समितिमा स्वास्थ्य, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, राजनीतिक दलका पदाधिकारी सदस्य छन् ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबारको बैठकले कोरोना परीक्षणको दायरा बढाउन प्रयोगशाला स्थापना अनिवार्य भएकाले प्रदेश सरकारले यसअघि गरेको निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

प्रयोगशाला स्थापना गर्न गएको वैशाखमा जिल्लामा सम्भाव्यता अध्ययन भइसकेको छ । प्रदेशमा हाल एक मात्र प्रयोगशाला हुँदा परीक्षणको दायरा बढाउन सकिएको छैन । प्रदेशभरि ६६ हजार नागरिक क्वारेन्टिनमा छन् । बैठकले जिल्लास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनासमेत पारित गरेको छ । यसैगरी विपद्को समयमा आवश्यक पर्ने उद्धारका सामग्री खरिद गर्नका लागि सबै स्थानीय तहहरुसँग आग्रह गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !